सिराज खान
नेपालगन्ज, मङ्सिर १८ गते । नेपालगन्ज उपमहानगरपालिकाभित्र स्वास्थ्य सेवासम्बन्धी जनचेतना फैलाउन तथा मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन मुख्य भूमिका रहेको जनाउँदै २३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ ।
२० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले मङ्गलवार यहाँ आयोजना गरेको कार्यक्रममा २३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुका साथै ६० वर्ष उमेर पुगेका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको हो ।
नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, प्रमुख कार्यकारी अधिकृत ओमबहादुर खड्का र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले संयुक्त रुपमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुमा आरती पाठक, हेमादेवी नाउ, कुल्सुम राई, कोपिला थापा, सरस्वती सिंह, चन्दा कहार, साहजहाँ कबडिया, रुबि खाँ, सरस्वती प्रजापति, गुड्डी लोनिया, लोचना डिसी, शिर्षा बर्मा, सकुनकुमारी कार्की थापा, मीना चौधरी, बास्पति यादव, मिनु शाही, बिना चन्द, लक्ष्मी थापा, हाश्मी हलवाई, निर्मला साहु, रुपा श्रेष्ठ, चन्द्रकला गुरुङ र मुन्नि कौलिक रहनुभएको छ । सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य चेतना लगायत खोप र अन्य अभियानमा ठुलो योगदान दिँदै आए पनि राज्यले सेवासुविधामा निकै उपेक्षा गरेको बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो हैसियत अनुसार स्वयंसेविकालाई उचित सेवा सुविधा दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरका प्रमुख कार्यकारी अधिकृत ओम खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेल, नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, उमेर हदका कारण बिदा हुनुभएका स्वयंसेविका तुलसा थापालगायतले महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको चर्चा गर्नुभयो ।
नेपालगन्ज उपमहानगरमा हाल १६६ जना महिला स्वास्थ्य स्वयंसेविका रहेकोमा १० जना बिदा भएको जनाउँदै स्वयंसेविकाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने माग महिला स्वास्थ्य स्वयंसेविका सङ्घ नेपालगन्ज उपमहानगरका अध्यक्ष ज्योती श्रेष्ठले गर्नुभयो ।
२० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा यसअघि मङ्गलवार विहान स्वयंसेविकाहरुले प्रभातफेरीको आयोजना पनि गरेका थिए ।