• १२ साउन २०८१, शनिबार

सडक बनेपछि सहज

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर १९ गते । बाह्रै महिना हिलाम्मे हुने सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन गाउँको सडक कालोपत्रे भएको छ । चिताइन मन्दिरदेखि दक्षिणतर्फको गाउँमा नालासहित पक्की सडक निर्माण भएपछि बस्ती चिटिक्क देखिएको छ भने स्थानीयले हिलोबाट मुक्ति पाएका छन् ।

हरिपुर नगरपालिका–७ का वडाध्यक्ष मनोजकुमार चौधरीले नगरको करिब ८५ लाख रुपियाँ बजेटबाट चिताइन गाउँको सडक र चिताइन मन्दिरदेखि पश्चिम पुल्चोकसम्म निस्कने सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो । 

हरिपुर लालबन्दी आउजाउ गर्ने बासिन्दाले प्रयोग गर्ने चिताइन गाउँको यो सडक हरेक समय हिलाम्मे हुँदा आउजाउमा समस्या हुँदै आएको थियो । पानी निकास नहँुदा सधैँजसो हिलो भइरहने सडकका कारण दिक्क भएका स्थानीयवासी सडक कालोपत्रे भएपछि खुसी भएका छन् । 

स्थानीय प्रधानाध्यापक चेतनारायण धामीले सडक कालोपत्रे भएसँगै विद्यालय आउने जाने विद्यार्थीलाई निकै सहज भएको बताउनुभयो । बस्तीमा दुवैतर्फ नालासहितको कालोपत्रे सडक निर्माण गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।