• १६ असार २०८१, आइतबार

नेपाल सुपर लिग : झापा र काठमाडौँको बराबरी

blog

काठमाडौँ, मङ्सिर १८ गते । कप्तान अञ्जन विष्टबिनाको झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सलाई बराबरीमा रोकेको छ । दशरथ रङ्गशालामा सोमबार भएको आफ्नो तेस्रो खेलमा झापाले काठमाडौँ रेजसलाई गोलरहित बराबरीमा रोकेको हो । 

पहिलो खेलमा रिपोर्टिङ इलामसँग १–० ले हार व्यहोरेको झापाले दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरीको नतिजा सामना गरेको थियो । सोही खेलमा झापाका महत्त्वपूर्ण खेलाडी एवं कप्तान अञ्जन घाइते हुनुभएको थियो । त्यसकारण तेस्रो खेलमा झापाले कप्तान अञ्जनविना खेलेपनि काठमाडौँलाई रोक्न सफल भयो । जारी सिजन अपराजित काठमाडौँले झापाविरुद्ध राम्रो प्रदर्शन गर्न नसक्दा अङ्क बाँड्न बाध्य भयो । 

यसअघि काठमाडौँले पहिलो खेलमा रिपोर्टिङ इलामलाई १–० गोलले हराउँदै सुखद सुरुवात गरेको थियो । तर, त्यसपछि एफसी चितवनसँग १–१ को बराबरी खेलेको काठमाडौँले तेस्रो खेलमा पनि बराबरीको नतिजा सामना गर्‍यो । 

यससँगै काठमाडौँ तीन खेलबाट पाँच अङ्कसहित चौथो स्थानमा यथावत् छ । झापा भने तीन खेलबाट दुई अङ्कसहित आठौँ स्थानमा छ । त्यसअघि खेलमा राम्रो अवसर सिर्जना हुन १४औँ मिनेटसम्म कुर्नुपर्‍यो । काठमाडौँ रेजर्सका कुलदीप कार्कीको लामो पास नियन्त्रणमा लिँदै हिसुब थपलियाको वान टच प्रहार झापका गोलकिपर स्टेफन सुपिचले सहजै रोक्नुभएको थियो । 

२७औँ मिनेटमा झापाले पहिलो अवसर बनायो । प्रदीप लामाको थ्रु बल नियन्त्रणमा लिँदै जर्ज सान्चेजको पेनाल्टी क्षेत्रभित्र बाट गरेको प्रहार काठमाडौँ का गोलकिपरले विफल पारेका थिए । ३१औँ मिनेटमा काठमाडौँका सोखरुख महर्जनको फ्रिकिक प्रहार माथिल्लो बार हुँदै बाहिरियो ।

त्यसको तीन मिनेटपछि नै झापाका समिराज थोकरले पेनाल्टी क्षेत्रको लेफ्ट साइडबाट गरेको फितलो प्रहार काठमाडौँका गोलकिपर अभिसेक बरालले सहजै नियन्त्रणमा लिनुभएको थियो । पहिलो हाफको थप समयमा सान्चेजले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सक्नुभएन ।

प्रदीप लामासँग वान टु पासमा खेल्दै सान्चेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको फितलो प्रहार काठमाडौँका गोलकिपर बरालले सहजै रोकिदिनुभयो । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रोकियो । दोस्रो हाफको सुरुवातमा नै झापाका सान्चेजले अग्रता बनाउने अवसर खेर फाल्नुभयो । 

अन्तिम डिफन्डर छकाउँदै उनको फितलो प्रहार काठमाडौँका गोलकिपर बरालले सहजै रोक्नुभयो । ६४औँ मिनेट झापाका समान्डर ओचिलोभको प्रहार गोलकिपर बरालले उत्कृष्ट पन्च गर्दै बाहिर पठाउनुभयो । ओचिलोभको सशक्त प्रहार काठमाडौँका अन्जन राईसँग डिफ्लेक्ट भएर दिशा परिवर्तन गरेपनि बरालले उत्कृष्ट बचाउ गर्नुभएको थियो ।