• १२ असोज २०८१, शनिबार

बजेट कार्यान्वयनका लागि सचिवहरूलाई निर्देशन

blog

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । फाइल तस्बिर ।

सचिन पोख्रेल

विराटनगर, मङ्सिर १८ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न प्रदेश सरकार मातहतका सचिवहरूलाई निर्देशन दिनुभएको छ । 

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरूसँग सोमबार गर्नु भएको छलफलको क्रममा सो निर्देशन दिनुभएको हो ।

“अब बजेट कार्यान्वयन ढिलासुस्ती गर्न कुनै पनि बहाना छैन । बजेट कार्यान्वयन गर्न के के कुराले रोक्छ ऐन कार्यविधि नियमावली जे बाधक बनेका छन् ती सबै संशोधन गर्न नयाँ बनाउन परे सरकार तयार छ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो।

जनताको काम गर्न अलमल गर्ने छुट कसैलाई नभएको भन्दै कार्कीले वातावरणमैत्री र मानवीय विकास प्रदेश सरकारको प्राथमिकता भएको उहाँको भनाइ छ। “सेवाग्राहीलाई सम्मान गर्दै मानवीय विकासमा जोड दिनुपरेको छ। खर्च गर्ने क्षमता बढाएर सुशासन कायम गर्दै अगाडिका चुनौतीहरूलाई समाधान गर्नु पर्दछ ।” 

सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउन आवश्यक सुधार गर्ने, जनसेवा, नागरिक अधिकारको रक्षा र सुशासन कायम गर्ने, निकायगत समन्वय कायम गरी कामलाई गति दिने नीति वर्तमान सरकारको छ। 

राजनीति र प्रशासनबिच विश्वासको वातावरण निर्माण गरी शासन, विकास र सेवा प्रवाह गरिनुपर्ने मुख्यमन्त्री कार्कीको जोड थियो । उहाँले बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन, कार्यविधि, निर्देशिका निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने भए पहिचान गरी मन्त्री तथा मुख्यमन्त्री समक्ष पेस गर्न पनि आग्रह गर्नु भयो ।  

सो अवसरमा प्रमुख सचिव दीपककुमार काफ्ले सबै मन्त्रालय तथा निकायले १० दिनभित्र बजेट कार्यान्वयन कार्ययोजना निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गर्ने र सोही कार्ययोजना अनुसार कार्यान्वयन गर्ने बताउनुभयो ।