काठमाडौँ, मङ्सिर १८ गते । सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थान कब्जा गरेको छ । च्याम्पियनसिपमा नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुई दिने प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्य पदकसहित दोस्रो भयो । नेपाल कराते महासङ्घले आयोजना गरेको प्रतियोगितामा तेस्रो स्थानको बङ्गलादेशले ६ स्वर्ण, सात रजत र १४ कांस्य हात जित्यो ।
यस्तै चार स्वर्ण, एक रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, दुई स्वर्ण, आठ रजत र २९ कांस्य पदकसहित श्रीलङ्का (एनओसी टिम) पाँचौँ तथा दुई कांस्यसाथ भुटान छैटौँ भयो । प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, श्रीलङ्का (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका एक सय तीन महिला र एक सय ३४ पुरुष गरी दुई सय ३७ खेलाडी सहभागी थिए ।
विजेतालाई राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासङ्घका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामा, कराते महासङ्घका महासचिव दावा गुरुङलगायतले पुरस्कृत गर्नुभयो ।