• २ असार २०८१, आइतबार

देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव : मन्त्री शर्मा

blog

नेकपा (माओवादी केन्द्र) प्युठानको सरुमारानी गाउँपालिका–२ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर: मन्त्री शर्माको सचिवालय

प्युठान, मङ्सिर १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) प्युठानको सरुमारानी गाउँपालिका–२ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान् अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रूपान्तरण सम्भव हुने बताउनुभयो ।

देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरू कसैले गर्न नसक्ने उल्लेख गर्नुहुँदै उहाँले माओवादीले जितेका सबै तहका सरकारले नमुना काम गरिरहेको बताउनुभयो । माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रूपमा लिएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको पनि बताउनुभयो ।


विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरूमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको क्षेत्रमा आशा जगाएको उल्लेख गर्नुहुँदै  मन्त्री शर्माले नक्कली भुटानी शरणार्थी, सुनकाण्ड जस्ता ठुला भ्रष्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको स्पष्ट गर्नुभयो ।

सामाजिक न्याय सरकारले समातेको महत्त्वपूर्ण बाटो भएको उल्लेख गर्नुहुँदै उहाँले यो समाजमा पुग्ने पार्टीको योजनासित जोडिएको बताउनुभयो । जनयुद्धको बेलामा पनि तोड्न नसकिएको मिटरब्याजको जालो तोड्नेदेखि सामन्तवादका बाँकी अवशेष समाप्त पार्ने सवालमा सरकारले महत्त्वपूर्ण पाइला चालेको स्पष्ट पार्नुहुँदै मन्त्री शर्माले यसलाई पार्टीले जनतासम्म पुर्‍याउनुपर्ने बताउनुभयो ।

काम गर्ने क्रममा भएका कमीकमजोरीप्रति माफी मागेर अघि बढ्न उहाँले नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । सबै छरिएका माओवादी एक भएर जनतालाई गोलबन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । २०६४ सालमा माओवादीलाई पहिलो शक्ति बनाए पनि त्यसपछि जनताले माओवादीको फूट र विभाजन मन नपराएको उल्लेख गर्नुहुँदै उहाँले परिवर्तनकारी शक्तिबिचको एकता अनिवार्य भएको बताउनुभयो ।

माओवादीसित जनता एजेण्डाका कारण नभई माओवादीकै नेता कार्यकर्ताको शैलीका कारण रिसाएको पनि उहाँले स्पष्ट गर्नुभयो । माओवादीले अघि सारेको गणतन्त्र, सङ्घीयता, समावेशिताजस्ता एजेण्डामा देश चलिरहेको भए पनि निर्वाचनमा अपेक्षित मत प्राप्त नहुनुको कारण खोजी गर्नुपर्ने उल्लेख गर्नुहुँदै शर्माले राजनीतिलाई पेसा होइन, सेवाको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।


महिला, मधेशी, जनजाति, दलितलगायत पछाडि पारिएका समुदाय माओवादीको एजेण्डाकै कारण शासन सञ्चालन गर्ने हैसियतमा पुगेको स्पष्ट पार्नुहुँदै मन्त्री शर्माले यसलाई पार्टी मात्रै होइन, देशको पुजीको रूपमा लिनुपर्ने बताउनुभयो । जनताले अघि सारेका जायज माग पूरा गर्न इमानदारीपूर्वक लाग्नुपर्ने र पूरा गर्न नसके त्यसको कारण पनि जनतासमक्ष इमान्दारपूर्वक राख्न मन्त्री शर्माले स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सभालाई माओवादी केन्द्रका प्रदेश सचिव कृष्ण अधिकारी, प्रदेश सदस्य बुद्ध बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो । सो क्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य शर्माले एमाले सरुमारानी गाउँ कमिटी सदस्य चिन्ताबहादुर लोहारसहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउनुहुँदै सदस्यता प्रदान गर्नुभएको थियो ।