• २ असार २०८१, आइतबार

जिल्ला अस्पतालमा पाँच शय्याबाट डायलासिस सेवा

blog

मध्यबिन्दु जिल्ला अस्पतालमा डायलासिस गराउँदै मिर्गौला रोगी । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, मङ्सिर १८ गते । 
पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला रोगीहरूलाई निःशुल्क रूपमा मिर्गौलाको डायलासिस सुरु भएको छ । जिल्ला अस्पतालले पाँच शय्याबाट मिर्गौला प्रत्यारोपणको सेवा प्रदान गर्दै आएको छ । केही वर्ष पहिले जिल्ला भित्रका मिर्गौलासम्बन्धी बिरामीलाई डायलासिसका लागि चितवन र काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

जिल्ला भित्रका रोगीहरूलाई बाहिर जिल्ला जानु पर्ने बाध्यता एकातिर थियो भने आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने पीडा अर्को तर्फ थियो । तर नवलपुर जिल्लाकै मध्यविन्दु जिल्ला अस्पतालमा यो सेवा सुरु भएपछि जिल्ला भित्रका मिर्गौला पीडितहरूले राहत पाएका छन् ।

अस्पतालमा डायलासिस सेवाका लागि हालसम्म ११८ जना मिर्गौला रोगीले नाम लेखाएको जनाइएको छ । अहिले २० जनाको उपचार भइरहेको छ । नवलपुर जिल्ला बाहेक पाल्पा र तनहुँबाट पनि उपचारका लागि नाम टिपाइएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । डायलासिस गर्ने नौ वटा मेसिनमध्ये आठ वटाबाट एक सिफ्टमा दैनिक सात जनालाई सेवा दिएको सुवेदीले बताउनुभयो ।

बिरामीको सङ्ख्या बढी रहेको भए पनि उपकरण र जनशक्तिको अभावमा थप बिरामीलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ रहेको छ । जसका कारण सेवा लिन चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता मिर्गौला रोगीहरूको छ । दुई सिफ्ट सञ्चालन  हुन सक्ने हो भने ३० जना बिरामीको उपचार गन सकिन्छ तर त्यसका लागि तीन जना थप जनशक्ति चाहिने हुँदा थप पाँच शय्याका लागि अस्पतालले माग गरेको छ । 

विगत ११ वर्षदेखि मिगौला प्रत्यारोपणका लागि मागौला नपाएर डायलासिस गराउँदै आएकी देवचुली ६ निवासी ५८ वर्षीया चित्रकुमारी मल्लले आफ्नै जिल्लाको सरकारी अस्पतालमा निःशुल्क डायलाइसिस गर्न पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

स्वास्थ्य संस्थामा जनशक्तिको उपलब्धता, भौतिक संरचना निर्माण, स्रोत र उपकरण तथा चिकित्सकहरूमा दिइने ऊर्जाले नै प्रदेशमा स्वास्थ्यको अवस्था बलियो पार्ने गरी प्रदेशले काम गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिनुभयो । मेडिकल सुपरिटेन्डेन्ट डा. कँडेलका अनुसार जिल्ला अस्पतालले पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूसँग सहयोग मागेको छ ।

जिल्लामा एक सय जनाको आसपास डायलसिस गर्नुपर्ने बिरामी रहेका छन् । अस्पतालमा कम्तीमा १० उपकरणमार्फत दुई सिफ्टमा सेवा प्रदान गर्न सके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीका लागि समेत सहज हुनेभएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहयोग आवश्यक रहेको डा. कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मिर्गौला रोगी मात्र नभएर पहिले सेवाग्राहीको खासै चाप नहुने गरेकामा अहिले सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको छ ।” जिल्लामा बिमा कार्यक्रम लागू भएपछि अस्पतालमा थप बिरामीका चाप बढेको उहाँको भनाइ छ ।

मध्यविन्दु जिल्ला अस्पतालमा नियमित सेवाका अवला, सुत्केरी सेवा, कोभिडका बिरामीलाई आइसियु कक्ष, कडा क्षयरोगका बिरामीलाई होस्टेलसहितको उपचार सेवा लगायतका उपचार सेवाहरू सञ्चालनमा रहेका छन् । जिल्ला भित्रका मिर्गौला रोगीहरूले मध्यविन्दु जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा गरेका वा नगरेका सबैले निःशुल्क डायलासिस सेवा पाउने अस्पतालका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।