लीलाधर वली
घोराही, मङ्सिर १८ गते । दाङमा घरेलु तथा साना उद्योगको सङ्ख्या ११ हजार बढी पुगेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लाका दश स्थानीय तहमा ११ हजार ४ सय ७ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।
जसमध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै र बंगलाचुली गाउँपालिकामा थोरै घरेलु तथा साना उद्योगहरू छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै ४ हजार ५४ वटा घरेलु तथा साना उद्योगहरू छन् भने बंगलाचुली गाउँपालिकामा सबैभन्दा थोरै १ सय ५५ वटा छन् ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा तीन हजार ३ सय २६ वटा, लमही नगरपालिकामा एक हजार २ सय २८ वटा, गढवा गाउँपालिकामा ६ सय ४८ वटा, राप्ती गाउँपालिकामा ५ सय ४५ वटा, शान्तिनगर गाउँपालिकामा ५ सय ३८ वटा, दंगीशरण गाउँपालिकामा ३ सय ५१ वटा, बबई गाउँपालिकामा ३ सय ४४ वटा, राजपुर गाउँपालिकामा २ सय २७ र बंगलाचुली गाउँपालिकामा १ सय ५५ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख युवराज न्यौपानेले जानकारी दिनुभएको छ ।
कार्यालय प्रमुख न्यौपानेका अनुसार कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै कृषिसम्बन्धी उद्योगहरू छन् । जसमा पशुपालन, माछापालन लगायत कृषि बहुउद्देश्य उद्योगहरू छन् । उहाँका अनुसार कृषि बहुउद्देश्य उद्योगहरू २ हजार ४ सय ३९ वटा, पशुपालन सम्बन्धी १ हजार ५ सय ८० वटा, माहुरीपालन सम्बन्धी १ सय ६५ र माछापालन सम्बन्धी ८० वटा रहेका छन् ।
कार्यालय प्रमुख न्यौपानेका अनुसार कृषि सम्बन्धी व्यवसाय गर्नेगरी साना तथा घरेलु उद्योगहरू दर्ता हुने गरेका छन् । जिल्लामा हावापानी तथा बजारका दृष्टिले राम्रो रहेका कारण जिल्लामा धेरैजसो कृषिसम्बन्धी घरेलु उद्योगहरू दर्ता हुने गरेको भन्दै कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, ‘कृषि तथा पशुपालनका लागि राम्रो सम्भावना भएकाले धेरै उद्योगहरू दर्ता हुने गरेका छन् ।’ उहाँका अनुसार कृषिमा पशुपालन, तरकारी खेती, कुखुरापालन, माहुरी लगायतका मानिसको आकर्षण हुने गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कृषिसँगै जिल्लामा पोल्टी तथा फिड उद्योग १ हजार २ सय ४, कुटानी पिसानी सम्बन्धी मिल उद्योगको सङ्ख्या ८ सय ४७, जडीबुटी उद्योग १२, सःमिल,भेनियर तथा फर्निचर उद्योग ५ सय २९, वर्कसप ५ सय २७, ग्रिल उद्योग ४ सय २६, इट्टा उद्योग ६५, होटेल तथा रेष्टुरेष्ट १ हजार २ सय ४, खनिज उद्योग ८, पाउरोटी उद्योग ३८, मसला उद्योग ३५, बरफ उद्योग ७, डेरी उद्योग ७१, सिलाई कटाई, बुटिक तथा प्रशिक्षण केन्द्र ३ सय ५३, होजियारी उद्योग १२, सुनचाँदी उद्योग १ सय १४, कापी उद्योग १५, क्रसर तथा वासिङ उद्योग ४४, कम्प्युटर प्रशिक्षण सम्बन्धी केन्द्र ७५ वटा छन् ।
त्यसैगरी छालाजन्य उद्योग ३५, चाउमिन तथा सस उत्पादन उद्योग ४८, कपडा उद्योग २, शुद्ध पिउने पानी उद्योग १४, व्युटिपार्लर तथा हेयर ड्रेुुसर सम्बन्धी १ सय २४ वटा, हर्बल साबुन तथा सर्प सम्बन्धी ३३ वटा, अल्लो तथा गलैँचा उद्योग २१, आर्ट उद्योग ११ वटा, बिरुवा उत्पादन सम्बन्धी १६, कन्सल्टेन्सी इन्जिनियरिङ प्रशिक्षण केन्द्र ६७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख न्यौपानेले जानकारी दिनुभएको छ ।