• १५ मंसिर २०८१, शनिबार

कुलतबाट जोगाउन सडक नाटक

blog

लुम्बिनीमा लागुऔषध दुव्र्यसन विरुद्ध देखाइएको सडक नाटक । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, मङ्सिर १८ गते । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले युवालाई कुलतमा फस्न नदिन विशेष अभियान थालेको छ । लुम्बिनीमा पछिल्लो समय युवा बढी लागूऔषध सेवन गर्ने गरेकाले नगरपालिकाले लागूऔषध दुर्व्यसनी सम्बन्धी सडक नाटक सुरु गरेको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ को खुदावगर माध्यमिक विद्यालय, वडा नम्बर ७ को कर्महवा मावि, वडा नम्बर ६ को पर्साचोकमा सडक नाटक गरिएको आयोजकले जनाएको छ । अवध थिएटर रुपन्देहीको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थीहरू एवम् सर्वसाधारणको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलनमानले स्कुले विद्यार्थीहरू, युवायुवतीहरू बढी कुलतमा लागेको समाचार आएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रयास थालिएको बताउनुभयो । उहाँले लागूऔषधले मानवीय क्षतिसँगै समाजमा विकृति फैलाउने भएकाले यसको नियन्त्रणका लागि सम्बन्धित सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो । नगरप्रमुख मुसलमानले आगामी दिनमा समेत यस्ता सचेतनामूलक कार्यक्रमले निरन्तरता पाउने जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना हरिजनले बालबालिका भोलिका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले अभिभावकले आफ्ना सन्तानहरूलाई बढी हेरचाह गर्नुपर्ने बताउँदै नगरपालिकाबाट कुलतमा लाग्न लागेका, फसेकाका लागि लक्षित सचेतनामूलक कार्यक्रम गरेको औँल्याउनुभयो ।

नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँले लागूऔषध दुर्व्यसनीले व्यक्तिलाई मात्र नभई समाजमा नै असर पुर्‍याउने भएकाले भएकाले यसको नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका न्यायिक समिति सदस्य तथा लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले समाजमा हुने विकृति धेरैजसो लागूऔषध सेवनले हुने बताउनुभयो । उहाँले विद्यार्थीहरू तथा युवाहरू बढी कुलतमा लागेकोले कुलतबाट बचाउन लुम्बिनीका विभिन्न ठाउँमा सडक नाटक गरिने बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख लगायतको उपस्थिति थियो । लागूऔषध दुर्व्यसनी सम्बन्धी सडक नाटक आगामी मङ्सिर ३० गतेसम्म लुम्बिनीका विभिन्न ठाउँमा सञ्चालन हुने बताइएको छ ।