• ६ माघ २०८१, आइतबार

घारेले टोकेर विद्यार्थी बिरामी

blog

अत्रौली मा.वि. का विद्यार्थी । फाइल तस्विर

जनार्जन खत्री

सर्लाही, मङ्सिर १८ गते । सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीको रामअवतार जनता माध्यमिक विद्यालयमा सोमबार घारेले टोकेर ३५ जना विद्यार्थी बिरामी परेका छन् ।

सोमबार बिहान विद्यालयमै कोचिङ कक्षा गएका विद्यार्थीलाई घारेले चिलेर घाइते बनाएको विद्यालयका प्रधानाध्यापक निरञ्जन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घारेले टोकेकामध्य १० जना विद्यार्थी र विद्यालयका विज्ञान शिक्षक वसन्त घिसिङलाई उपचार नै गर्नुपरेको छ । 

उहाँहरू सबै नवलपुरस्थित एक अस्पतालमा उपचारपछि घर फर्किसक्नुभएको विद्यालयले जनाएको छ । विद्यालयसँगै रहेको बरको बोटमा रहेको घारेको गोलामा बाजले आक्रमण गरेपछि घारे बिच्किएर बिहानै कोचिङ पढ्न विद्यालय पुगेका विद्यार्थीलाई आक्रमण गरेको हो । 

सो घटनापछि विद्यालयमा केहीबेर भागदौड नै मच्चियो । बिच्किएका घारे विद्यालय वरपर नै घुमिरहेकाले सोमबार एक दिनलाई विद्यालयको पठनपाठन नै बन्द गर्नुपरेको प्रधानाध्यापक कार्कीले बताउनुभयो । वडाध्यक्ष अर्जुनकुमार योन्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर ठोकर, प्रधानाध्यापक कार्कीलगायतले सुरक्षितसाथ विद्यालय क्षेत्रको अनुगमन गरेपछि नगरपालिकाको शिक्षा शाखासँग अनुमति लिएर विद्यालय बन्द गरिएको हो । 

सोमबार बेलुकासँग स्थानीय युवासँग सहयोग लिएर घारे नष्ट गरी मङ्गलबारबाट पठनपाठन सुचारु गरिने प्रधानाध्यापक कार्कीले बताउनुभएको छ ।