• १४ असार २०८१, शुक्रबार

सांसद खड्का चढेको गाडी दुर्घटनाले धरान–धनकुटा सडक नै अवरुद्ध

blog

कोकिला भण्डारी

धनकुटा, मङ्सिर १७ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । 

सङ्खुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको साँगुरी गढी गाउँपालिकाको कोल बोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२–०३–००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख कृष्ण कोइरालाले बताउनुभयो । 

सडकबाट दुर्घटनाग्रस्त गाडी र ट्रक निकाल्न समस्या भएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भई रहेको जनाएको छ । शनिवार साँझ खड्का सवार गाडी दुर्घटना भएको थियो । दुर्घटनामा उहाँ सहित दीपक लिम्बु, लभ कुमार श्रेष्ठ र चालक सहित पाँच जना सवार गाडी थिए । घाइते हुनेमा टिपरका सहचालक सर्लाहीका २२ वर्षीय देवेन्द्र कुसवहाको उपचार भई रहेको छ भने बाँकी सामान्य नै रहेका छन् ।