• १० साउन २०८१, बिहिबार

केटाकेटी मोबाइलप्रति किन आकर्षित हुन्छन् ?

blog

बच्चाबच्चीले मोबाइल हेरेर बस्नुलाई नेपालमा गम्भीर समस्याका रूपमा लिने गरिएको छ । यो समस्यालाई लिएर अभिभावक डाक्टरकहाँ धाउने व्रmमसमेत बढेको छ । यो समस्याको कारण के हो र कसरी समाधान गर्न सकिन्छ भन्ने विषय यहाँ उठान गर्न खोजिएको छ । 

शिक्षाबारे बुझाइ

नेपालमा रोजगारीको अवसर कम छ । कामलाई ह्वाइट कलर र ब्ल्याक कलर भनेर भेदभाव गर्ने सामाजिक मूल्य छ । ह्वाइट कलर जब गर्न कि एकदमै ब्रिलियन्ट हुनु पर्छ कि शक्तिवान्को सोर्ससोर्फ लगाउनु पर्छ भन्ने बुझाइ छ । बच्चाबच्ची जसरी पनि अब्बल बनाउनु पर्छ भन्ने अभिभावकको सोच हुन्छ । स्कुल, कलेजमा प्राप्त गर्ने स्कोरलाई अब्बलको मापक मान्छन् । त्यसैले जतिखेर पनि पढिरहोस् भन्ने चाहना हुन्छ ।

शिक्षाको वास्तविक अर्थ

शब्दावली ज्ञानका लागि पढ्नुको विकल्प छैन । त्यसबाहेक स्कुल गएर सिक्ने पनि सामाजिक ज्ञान नै हो । सामाजिक शिक्षाले समाजमा भएका घटना बुझ्न, विश्लेषण गर्न र अभिव्यक्त गर्न सिकाउने हो । विज्ञानले वरिपरि भएका घटनाका कारण थाहा दिने हो । गणितले घरपरिवारमा आवश्यक पर्ने हरहिसाब सिकाउने हो । प्राविधिक वा सिपमूलक शिक्षाले घरपरिवार र छरछिमेकमा चाइने खाना बनाउने, लुगा सिलाउने, खेती गर्ने जस्ता काम सिकाउने हो ।

स्कुलमा लिने शिक्षा स्कुलमा पढेर र घरमा गृहकार्य गरेर मात्र पूरा हुँदैन । घरपरिवार र समाजसँग मिलेर कुराकानी साथै काम पनि गरेर मात्र पूरा हुन्छ । यसका लागि अभिभावकले छोछोरीका लागि समय दिनैपर्ने हुन्छ । छोराछोरीलाई सिकाउन अभिभावक पढे लेखेको हुनु पर्छ भन्ने छैन । छोराछोरीले पढेर सुनाउँछन् । सुने मात्र पुग्छ । सुनेर अन्तव्रिर्mया गर्न सकिन्छ ।

मोबाइलमा झुन्डिने समस्या

छोराछोरी गृहकार्य गर्न जाँगर गर्दैनन् । बल्लतल्ल गृहकार्य गर्छन् । बाँकी समय मोबाइलमै बिताउँछन् । यसले पढाइमा कमजोर भए भन्ने चिन्ता छ । साथै आँखा बिग्रने, मेरुदण्ड बाँगो हुने, मानसिक रोगी हुने भए भन्ने अर्को चिन्ता छ । मोबाइलमै झुन्डिने हुँदा पाहुनापाछा आउँदा मतलब गर्दैनन् । आफन्त नै नचिन्ने भए । संस्कार नसिक्ने भए । एकालकाटे हुने भए । यस्ता अनेक चिन्ता हुन्छन् । अभिभावक र छोराछोरीबिच दूरी बढेको छ । छोराछोरी देख्यो कि अभिभावकलाई रिस उठ्छ । अभिभावक देख्यो कि छोराछोरीलाई रिस उठ्छ । अभिभावकले अह्राएको छोराछोरीले मान्दैनन् । 

छोराछोरी कति दोषी

प्रकट भएको अवस्था हेर्दा गल्ती छोराछोरीकै हो । त्यो अवस्था सिर्जना हुन केही चिजले बाध्य नै पा¥यो, प्रेरित मात्र ग¥यो वा छोराछोरी अटेरी भएर त्यसो भएको हो ? यसको उत्तर खोज्नु पर्छ । मोबाइलमा समय बिताउनुको विकल्प छ कि छैन ? के के विकल्प छन् ? ती कत्तिको व्यावहारिक छन् ? यस्ता प्रश्नको उत्तर खोज्नु पर्छ । खुरुखुरु पढ्ने, पढ्न नभए ठपक्क बसे हुन्छ भन्ने अभिभावकको मत हुन्छ । केटाकेटीको प्राकृतिक आवश्यकता के हो ? प्राकृतिक आवश्यकता पूरा भएन भने त्यसको विस्फोट कसरी हुन्छ ? 

केटाकेटी नखेली उनीहरूको प्राकृतिक आवश्यकता पूरा हुँदैन । केटाकेटीको पहिलो रुचि चौरमा खेल्ने नै हुन्छ । केटाकेटी केटाकेटीसँगै खेल्न रुचाउँछन् । नभए अभिभावकसँग खेल्न रुचाउँछन् । केटाकेटीको पहिलो प्राथमिकता अरू केटाकेटी हो । तथापि अभिभावक कोठाभित्रै पनि बालबालिकासँग बल खेल्न तयार भए भने उनीहरू मोबाइलभन्दा त्यही बल र अभिभावकलाई नै प्राथमिकता दिन्छन् । बालबालिकालाई आवश्यकता अनुसार खेल्ने ठाउँ र साथी दुवैको अभाव छ । एक्लै र एकै ठाउँमा खेल्न सम्भव हुँदैन । मोबाइल खेल्न मात्र सम्भव हुन्छ । तसर्थ मोबाइलमा झुन्डिने समस्यामा केटाकेटीलाई दोषी मान्न मिल्दैन ।

को हो त दोषी

सहर बजारमा एकल परिवार छ । घरमा एक दुई जना मात्र छोराछोरी हुन्छन् । बाबु आमा आफ्ना काममा व्यस्त हुन्छन् । केटाकेटीलाई खेल्ने र अन्तव्रिर्mया गर्ने साथीको अभाव छ । यसको जिम्मेवार अभिभावक नै हुन् । छरछिमेकीसँग चिनजान सरसङ्गत आउजाउ हुँदैन । छिमेकीसँग मिलेर खेल्ने अवसर पनि छैन । साँगुरो कोठा, फ्लाट वा घरमा बसोबास हुन्छ । खेल्ने ठाउँ हुँदैन । यसको मुख्य जिम्मेवार पनि अभिभावक नै हो । बाहिर खुला सार्वजनिक ठाउँ हुँदैन । भएका ठाउँ बालमैत्री छैनन् । सुरक्षित छैनन् । बस्ती रहेका गल्ली, मार्गमा थोरै भए पनि निजी र सार्वजनिक जग्गा खेल्नका लागि उपयुक्त छन् तर त्यहाँ सवारी असुरक्षाको डर छ । गल्ली भित्रसमेत तीव्र गतिमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे साधन निर्वाध कुद्छन् । चर्को हर्न बज्छ ।

केटाकेटीबिच खेल्दाका फाइदा

बच्चाबच्चीलाई अभिभावकले सिकाएर निकै कम मात्र सिक्छन् । पुस्तामा ज्ञान हस्तान्तरण हुने समान पुस्तासँगकै अन्तव्रिर्mयाबाट हो । १० वर्षको बच्चाबाट सात÷आठ वर्षका बच्चाले सिक्ने हो । सात वर्षको बच्चाबाटै चार वर्षका बच्चाले सिक्ने हो । यस्तो सिकाइ निकै प्रभावकारी हुन्छ । खुला ठाउँमा खेल्दा शारीरिक, मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्ने मात्र होइन, स्कुलमा सिक्ने शिक्षा पनि ग्रहण गर्दछन् । अनुशासन, सहयोगी भावना, प्रतिस्पर्धा, विवाद, मेलमिलाप सबै कुराको सिकाइ हुन्छ ।

शारीरिक खेलले शरीरलाई थकित र दिमागलाई स्फूर्त बनाउँछ । पढाइको ग्रहणशीलता वृद्धि गर्छ । बच्चाबच्चीलाई समयमै सुत्न र निदाउन सहयोग गर्छ । मोबाइल खेल्ने बालबालिका राति अबेरसम्म सुत्न र निदाउन सक्दैनन् । सहर बजारमा वल्लो घर र पल्लो घरका मान्छेबिच चिनजान हुँदैन तर अस्थायी वा स्थायी सबै सहरबासीलाई टोलमा घुलमिल हुने इच्छा हुन्छ । छरछिमेकीसँग के विषयमा कसरी कुरा गर्ने, कसरी सम्बन्ध राख्ने, सुरुवात कसले गर्ने जस्ता हिच्किचाहटले जित्छ । छरछिमेकीका केटाकेटी सामूहिक खेल्ने अवस्था सिर्जना भयो भने अभिभावकलाई पनि अन्तव्रिर्mयाको अवसर जुट्छ । निरस लाग्ने सहर सबैका लागि रमाइलो बन्दै जान्छ । सामाजिक अन्तरघुलन र विकासको बाटो केटाकेटीले खोल्दिन्छन् । 

स्कुलको भूमिका

घरमा सङ्ख्या र ठाउँ अभाव भएका केटाकेटी स्कुलमा गएर खेल्न सक्छन् । स्कुलमा जे जति ठाउँ र समय छ । त्यसलाई अधिकतम सदुपयोग गरेर खेल्ने अवसर वृद्धि गरिदिनु पर्छ । स्कुलमा पढ्ने पढाउने मात्र हो, खेल्ने खेलाउने घरमा हो भन्ने सोचाइ राख्नु भएन । घरमा खेल्ने अवसरको सीमिततालाई मध्यनजर गरेर स्कुलहरूले आफ्नो नीति परिमार्जन गर्नु पर्छ । अनुशासनको नाममा विद्यार्थीको खेल्ने चाहनालाई दमित गर्नु हुँदैन ।

विद्यार्थीले कति समय पढे भन्ने कुराको अर्थ हुँदैन । कति कुरा कण्ठ पारे भन्ने कुराले पनि महìव राख्दैन । कति जाने, कति व्यक्तित्व विकास भयो भन्ने कुराको आधारमा मूल्याङ्कन गर्नु पर्छ । मन खुसी भएको विद्यार्थीले एक मिनेटमा सिक्ने कुरा बेखुसी विद्यार्थीले १० मिनेटमा पनि सिक्न सक्दैन । पढाइएको समय मात्र गणना गरेर भएन । थोरै समय पढाएर पनि विद्यार्थीले धेरै बुझ्छ भने थोरै समयलाई नै राम्रो मान्नु पर्छ । निजी स्कुलको हकमा स्थानको सीमितता हुन सक्छ । सरकारी स्कुलको हकमा भएकै जग्गाको अधिकतम सदुपयोग गरेर ठाउँ बढाउन सकिन्छ । स्कुलहरूले प्रायः सटर भाडामा लगाएका हुन्छन् । यसलाई अविलम्ब हटाउनु पर्छ । सरकारी स्कुलको काम भाडा उठाएर आम्दानी गर्ने होइन । सरकारले यसको दायित्व बेहोर्नु पर्छ । यसमा मूलतः पालिकाको इच्छा शक्ति चाहिन्छ । यसपछि खेल्ने ठाउँ धेरै नै विस्तार हुन सक्छ ।

निष्कर्ष

अभिभावकले बालबालिकाका लागि समय दिने र स्थानीय सरकारले टोलबस्ती र सडकपार्कलाई बालमैत्री बनाउन प्रयत्न गर्ने हो भने समस्याले धेरै हदसम्म निकास पाउन सक्छ । जति सकिन्छ, उति प्रयत्न गरे तत्काल त्यसको आंशिक परिणाम देखिइहाल्छ । एकै पटक पूर्ण सफलता अपेक्षा राख्नु पनि आवश्यक छैन ।

Author

रमेश घिमिरे