• १२ साउन २०८१, शनिबार

देशको विकास एमालेले मात्र गर्न सक्छ : अध्यक्ष ओली

blog

मङ्गलसेनको जनसभामा सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर: शिवराज ढुङ्गाना

शिवराज ढुंगाना 

मंगलसेन, मंसिर १६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । 

समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको उहाँले टिप्पणी गर्नुभयो ।  

नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी उहाँले गर्नुभयो । “एमाले सरकारमा हुँदा झलमल्ल बत्ती बलेजस्तो हुन्छ । एमाले सरकारबाट हटेमा बत्ती गएजस्तै अँध्यारो हुन्छ” अध्यक्ष ओलीले भन्नुभयो । 

पश्चिम सेती, सेती लोकमार्ग, माथिल्लो कर्णाली जलविद्युत आयोजना, चिसापानी–जंगलघाट–मङ्गलसेनको फाष्ट ट्रयाकलगायतको विकासमा एमाले दृढ रहेको उहाँले चर्चा गर्नुभयो । 

 

वर्तमान सरकारले नागरिकको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरू स्वार्थमा केन्द्रित रहेको आरोप लगाउनुभयो । वर्तमान सरकारका पालामा बेथिति मात्रै भएको उहाँले आरोप लगाउनुभयो ।  

अध्यक्ष ओलीले यसअघि अछामको वयालपाटा अस्पताल, वैद्यनाथ धाम लगायत ठाउँको अवलोकन गरेर जानकारी लिनुभएको थियो । यस्तै साँफेबगर र चौखुट्टेमा समेत सम्बोधन गर्नुभएको छ । भोलि आइतबार अध्यक्ष ओली मङ्गलसेनबाट दैलेखको राखममा राखेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।