• २७ वैशाख २०८२, शनिबार

राष्ट्र निर्माणमा सबैको योगदान

blog

काठमाडौँ, मङ्सिर १६ गते । पूर्वसुरक्षाकर्मी परिषद् नेपालसँग आबद्ध पदाधिकारीले पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राष्ट्र निर्माणमा स्थान विशेषका आधारमा सबै जातजाति र समुदायको योगदान भएको चर्चा गर्नुभएको छ ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा भएको संघको तेस्रो वार्षिक साधारण सभामा सहभागी वक्ताले राष्ट्रनिर्माता शाहले योगदान अनुसारको सबै समुदायलाई तोकेरै जिम्मेवारी दिएको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँहरूले सुरक्षा निकायको जिम्मेवारीमा रही योगदान पुर्‍याएको व्यक्तिको संलग्नता रहेको परिषदमा कसैले पनि राजनीतिक झोला बोक्न र हर्कत नदेखाउन सुझाव दिनुभयो । 

परिषद् गैरराजनीतिक चरित्रको संस्था भएको उहाँहरूको भनाइ थियो । सो अवसरमा परिषद्का अध्यक्ष कोमलबहादुर राउतले सम्पूर्ण निकायका पूर्वसुरक्षाकर्मीबीच एकता र हकअधिकारको सुरक्षा, राष्ट्र र राष्ट्रियताको सुरक्षा, कुशल नेतृत्व विकास लगायतको उद्देश्य राखेर संस्था स्थापना गरिएको बताउनुभयो ।

परिषद्का महासचिव पुष्पराज सुवेदीले ‘सम्पूर्ण सुरक्षाकर्मी एक हौँ राष्ट्रको सानमान कायम राखौँ’ भन्ने आदर्श तथा ‘अनेकतामा एकता, एकतामा राष्ट्रियता, राष्ट्र र राष्ट्रियतामा पूर्वसुरक्षाकर्मीको सहभागिता’ भन्ने नाराका साथ वि.सं.२०७७ पुसमा संस्था स्थापना भएको जानकारी दिनुभयो । कोषाध्यक्ष चित्रबहादुर पौडेलले संस्थाको आव २०७९/८० को पाँच लाख ९१ हजारको आय र व्यय प्रस्तुत गर्नुभयो ।

सो अवसरमा परिषद्का तर्फबाट देशभर छरिएर रहेका सबै निकायका सुरक्षाकर्मीलाई सङ्गठित गर्ने, आश्रित परिवारको आयआर्जनमा प्रोत्साहन गर्न सहकारीमार्फत उद्योग तथा कृषि क्षेत्रमा सहभागिता बढाउने तथा दश लाख राशिको अक्षयकोष स्थापना गर्ने भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । मुलुकभर करिब २५ हजार सदस्य रहेको परिषदमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, भारतीय सेना, बेलायत, सिङ्गापुर सैनिकमा आबद्ध गोर्खा सैनिकका पूर्वसुरक्षाकर्मी आबद्ध रहेको जानकारी दिइएको छ ।

कार्यक्रममा देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय भाषा, पोसाक, धर्म, संस्कृति परम्परा, रीतिरिवाज तथा संस्कार जोगाउन अहोरात्र खटी आफ्नो अमूल्य जीवन देश सेवामा समर्पित वीर पुर्खाले कमाएको शान र मानलाई शिरमा राखी काम गर्नुपर्नेमा जोड दिइएको थियो । परिषद्ले बाँकी जीवन समृद्ध राष्ट्र बनाउने अभियानमा पूर्वसुरक्षाकर्मीको स्वतन्त्र सङ्गठनमा जुट्न सबै सदस्यलाई अपिल गरेको छ । रासस