• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा भलिबल प्रतियोगिता

blog

पत्रकार सम्मेलनमा भलिबल प्रतियोगिताबार जानकारी गराइँदै। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १६ गते। ताप्लेजुङमा अन्तर्राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। जिल्लाको मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभानमा लाग्ने पुसेमेला स्वर्ण महोत्सवको अवसरमा प्रतिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजक पुसेमेला स्वर्ण महोत्सव मूल आयोजक समितिका अनुसार आगामी पुस १ देखि ५ गतेसम्म लाग्ने पुसे मेलामा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो। सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै भलिबल प्रतियोगितालगायत मेलामा सञ्चालन हुने गतिविधिबारे आयोजक समितिले जानकारी गराएको हो।

पुसेमेला सुरु भएको ५० वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रियस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको समितिका अध्यक्ष हेम श्रेङचोङ्बाङले जानकारी दिनुभयो। उहाँका अनुसार भारत, दक्षिण सिक्किमको नाम्चे भलिबल क्लबसहित नौ टोली (टिम) को प्रतियोगितामा सहभागिता रहने छ। यस्तै नेपालको नगर खेलकुद विकास समिति गलकोट बाग्लुङको टोली र बाँकी कोशी प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट प्रतियोगितामा सहभागी हुने छन्।

भलिबल प्रतियोगिता पुस १ मा सुरु भई ५ गते सम्पन्न हुने आयोजक समितिका सचिव गणेश कार्कीढोलीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताका विजेताले तीन लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी पाउने छ। त्यस्तै उपविजेताले एकलाख ५० हजार रुपियाँ र तृतीय हुनेले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी उत्कृष्ट खेल प्रदर्शनअन्तर्गत सर्भर, डिफेन्डर, ब्लकर, सेटर, उदयमान खेलाडी, प्रशिक्षकलगायत विधामा पनि जनही पाँच हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिने पुसेमेला स्वर्ण महोत्सव मूल आयोजक समितिका अध्यक्ष श्रेङचोङ्बाङले जानकारी दिनुभयो।

प्रतियोगिताका लागि जिल्ला भलिबल सङ्घ ताप्लेजुङको प्राविधिक सहयोग रहने छ। भलिबल खेल तथा खेलकुद र कृषिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर मेलामा भलिबल प्रतियोगितासहितका गतिविधि गर्न लागिएको पनि आयोजकले जनाएको छ। भलिबलसँगै साइकल दौड, तमोर नदीमा ¥याफ्टिङ, कृषि प्रदर्शनी, लिम्बू जातिको धाननाच (याःलाङ), हाक्पारेजस्ता मौलिक संस्कृतिको प्रदर्शन हुने पनि आयोजकले जानकारी दिएको छ। पत्रकार सम्मेलनमा मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हङ्गामा (डम्बर) लगायतको उपस्थिति रहेको थियो।