काठमाडौँ, मङ्सिर १६ गते । काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ । कामपाले आफ्नो २९ औँ वार्षिकोत्सवका अवसरमा महानगरस्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजन गर्न लागेको हो ।
यही मङ्सिर २७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई एक लाख ५० हजारका साथै शिल्डमा चाँदीको ठुलो बाँसुरी प्रदान गरिने कामपाको स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिनुभयो । दोस्रो हुनेलाई एक लाख नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोलाई ५० हजार नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुन कामपाको सम्पदा तथा पर्यटन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । “इच्छुक समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने ठुलो (घोर), मध्यम (माझवाल), सानो बाँसुरी (तिप), स्केलसहितको विवरण भर्नुपर्नेछ”, मुनिकारले भन्नुभयो, “दर्ता फाराममा टोल, गुथी वा सङ्घसंस्थाका गुरु: कजी:, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मङ्सिर २० गतेभित्र विभागमा पठाउनुपर्ने छ ।” रासस