• २८ मङ्सिर २०८२, आइतबार

सर्वाधिक पुरस्कार राशिको हाजिरीजवाफ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १६ गते । बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले शनिबार दोस्रो विश्व नेवा: हाजिरीजवाफ प्रतियोगितामा विजेता टिमहरूलाई नगदसहित पुरस्कृत गर्नुभएको छ ।

विश्वमा छरिएर रहेको नेवार समुदायको छाता सङ्गठन वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरको आयोजनामा भएको सो प्रतियोगितामा ल्वंचामरी समूहले विजेता बनेर एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो । यसैगरी, उपविजेता अंय्थ्यामरी समूहले आठ सय डलर, तेस्रो हुने चतांमरी समूहले छ सय डलर र सान्त्वना पुरस्कार जित्ने प्यारमरीले चार सय अमेरिकी डलरका हकदार बने ।

नेपाल भाषामा यो सर्वाधिक पुरस्कार राशिको हाजिरी जवाफ प्रतियोगिता हो । आयोजकका अनुसार यस प्रतियोगिताको कूल पुरस्कार रकम तीन हजार ६८० अमेरिकी डलर रहेको छ । यस प्रतियोगितामा नेपालका १७ र नेपालबाहिरबाट चार गरी २१ टिमले सहभागिता जनाएका थिए । यसवर्ष विभिन्न नेवार रोटीको नाम दिएर टिम बनाइएको थियो ।

मन्त्री महर्जनले बागमती प्रदेशले नेपालभाषा राष्ट्रिय कामकाजीको विशेष प्रयोग हुन लागेको र त्यसका लागि चाहिने नियमावली र भाषा विकास प्रतिष्ठान बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । यसैगरी वर्ल्ड नेवा: अर्गनाइजेसन नेवा: च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले अहिले नेवार समुदायका बालबालिकाले नेपाल भाषामा कुरा नगरिरहेको स्थितिमा अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिएको यस हाजिरजवाफमा उत्साहजनक सहभागिता रहेपछि आयोजनाको उद्देश्य सफल भएको छ, भन्नुभयो ।

चार महिना चलेको यस प्रतियोगिताको समापन समारोहमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।