• १२ असार २०८१, बुधबार

‘प्लस टु’ सञ्चालनका लागि चन्दा सङ्कलन

blog

रमेश विश्वकर्मा

गुल्मी, मंसिर १६ गते । गुल्मीको एक सामुदायिक विद्यालयमा प्लस टु कक्षा सञ्चालनका लागि चन्दा सङ्कलन अभियान थालिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२, पीपलधारास्थित गणेश माध्यमिक विद्यालयले प्लस टु अर्थात् कक्षा ११ र १२ सञ्चालनका लागि चन्दा सङ्कलन अभियान सुरु गरेको हो । 

सरकारबाट दरबन्दी नपाएसँगै पीपलधाराका विद्यार्थी कक्षा–१० पास गरेपछि १०+२ अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता रोक्न विद्यालयले यस्तो योजना ल्याएको हो । 

हाल विद्यालयमा तल्लो तहमा कार्यरत माथिल्लो योग्यता भएका शिक्षकबाट १०+२ कक्षा सञ्चालन गरिएको छ । कक्षा –१० सम्म अध्यापन गर्न पनि शिक्षकको अभाव रहेको प्रधानाध्यापक कृष्णबहादुर जिसीले बताउनुभयो । 

यस विद्यालयमा माध्यमिक तहमा दुई वटा राहत र एउटा दरबन्दी गरी तीन वटा, निम्न माध्यमिकमा चार, प्राथमिक तहमा पाँच, बालविकासको एक र विद्यालय कर्मचारी दुईगरी कुल १५ दरबन्दी रहेको छ । त्यस बाहेक विद्यालयले माध्यमिक र प्राथमिक तहमा एक–एक जना निजी स्रोतबाट शिक्षक राखेको छ । 

२०७५ फागुन १४ मा तत्कालीन वडाध्यक्ष नवीन जिसीको संयोजकत्वमा ‘आर्थिक सङ्कलन समिति अभियान’ नै बनाएर विद्यालयका लागि चन्दा सङ्कलन अभियान सुरु गरिएसँगै २०७६ बाट कक्षा ११ सुरु भएको छ । यस विद्यालयमा हाल कक्षा–११ मा ३१ र १२ मा २७ जना विद्यार्थी अध्ययनरत छन् । 

यहाँ शिक्षाशास्त्र सङ्कायतर्फ अङ्ग्रेजी, अर्थशास्त्र र नेपाली विषय अध्यापन हुन्छ भने व्यवस्थापन सङ्कायतर्फ व्यावसायिक अध्ययन, वित्तशास्त्र लेखाशास्त्र र अर्थशास्त्र अध्यापन हुँदैआएको छ ।