• ४ जेठ २०८१, शुक्रबार

वनभोजमा हिँडेको बस दुर्घटना, ६ घाइते

blog

वनभोज खान आएको बस दुर्घटनाग्रस्त अवस्थामा । तस्विर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, मंसिर १६ गते । वनभोज हिँडेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

इलामको माई नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी वनभोज आउनेक्रममा ब्रेक फेल भई ५५ जना सवार बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा परी चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते हुनुभएको छ । घाइते हुने विद्यार्थीमा १४ वर्षीया शान्ति लिम्बू, १३ वर्षीया सीमा राई, १६ वर्षीया मनिका राई र १६ वर्षीया निस्मा सारु मगर छन् । उनीहरूसँगै वनभोजमा आएका शिक्षक ५७ वर्षीय रामबहादुर मगर र ४९ वर्षीया शिक्षिका पवित्रा राई घाइते हुनुभएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले जानकारी दिनुभयो ।