• ६ माघ २०८१, आइतबार

शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री यादव । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, मङ्सिर १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको शुक्रबार शिलान्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले प्रदेश सरकार गठन भएको ६ वर्ष बित्दा पनि प्रहरी प्रदेश सरकारको मातहतमा आउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो । 

नेपाल प्रहरीलाई प्रदेश सरकार मातहतमा ल्याउन सङ्घर्ष जारी रहेको उहाँले बताउनुभयो । उहाँले कसैको सिफारिसबिना पीडितले न्याय पाओस् भन्ने किसिमले प्रदेशमा काम गर्नका लागि प्रहरी अधिकारीलाई आग्रह गर्नुभयो । प्रदेशको आठवटै जिल्लाको सदरमुकाममा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सिसिटिभी जडान गरिने उहाँको भनाइ छ । 

उहाँले अहिले पनि प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मधेश प्रदेश प्रहरीलाई सहयोग गरिरहेको भन्दै प्रहरी प्रदेश सरकारको मातहतमा आएपछि मधेश सरकारको प्रहरी सबैभन्दा सबल हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले मधेश प्रदेश प्रहरीको समस्या प्रदेश सरकारको समस्या भएको भन्दै शान्ति सुरक्षा सुदृढ पार्न विगतझैँ आगामी दिनमा पनि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका उपनेता एवम् प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरले प्रदेश सरकारको धेरैजसो बजेट त्यतिकै फ्रिज हुनेगरेको भन्दै त्यस्ता बजेटलाई प्रशासनिक पूर्वाधार निर्माणमा खर्चिन सल्लाह दिनुभयो । 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले भाडाको घरमा अहिले कार्यालय सञ्चालन भइरहेको भन्दै निर्माण हुने उक्त प्रशासनिक कार्यालय भवनले कामकाज गर्नमा सहजता हुने धारणा राख्नुभयो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रमणी पाण्डे, सशस्त्र प्रहरी बल नेपाल २ नं. छिन्नमस्ता बाहिनी बर्दिबासका सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र साह, वरिष्ठ प्रहरी उपरीक्षक प्रवीण पोखरेलसहित उच्च सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । 

२३ करोड १० लाख ४३ हजारको लागतमा निर्माण हुन लागेको उक्त प्रशासनिक कार्यालय भवनको निर्माण शिवालय सुबेदी जे.भि.काभ्रेले १८ महिनाभित्रमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको छ ।