• ७ जेठ २०८१, सोमबार

रुकुमपश्चिममा एमालेले बनायो २१५ अस्थायी आवास

blog

अस्थायी आवास निर्माण गर्दै एमालेका स्वयम्सेवककहरु । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १५ गते । “पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ । 

जिल्लाको आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिकामा एमालेले यी अस्थायी आवास बनाएको हो । पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाका अनुसार हालसम्ममा तीनसय स्वयंसेवक परिचालन गरी अस्थायी आवास बनाइएको छ । 

अध्यक्ष देवकोटाका अनुसार भूकम्प प्रभावित क्षेत्रमा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट २५० जना एमालेलेका स्वयंसेवक र जिल्लाका ५० जना गरी तीनसय जना स्वयंसेवक अस्थायी आवास निर्माणका लागि परिचालन भएका छन् । 

उहाँका अनुसार जिल्लाभर १५ टिम परिचालित छन् । परिचालन भएको समूहले आठबीसकोट नगरपालिका –११ मा ३३, वडा १२ मा ३८ र वडा १४ मा ३८ वटा एकसय ९ वटा अस्थायी आवास निर्माण गरेको छ । त्यस्तै, सानीभेरी गाउँपालिका वडा ४ मा १५, वडा ११ मा ८ र वडा १ मा १९ गरी ४२ अस्थायी आवास निर्माण गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 


त्यस्तै, चौरजहारी नगरपालिका वडा १०, ११, १२, १३ र १४ मा गरी ५१ र बाँफिकोटमा गाउँपालिकामा आठ वटा गरी जिल्लाभर जम्मा २१५ वटा अस्थायी आवास निर्माण गरिएको हो । क्षतिग्रस्त घरमै रहेका सामग्री प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएको उहाँको भनाइ छ । 

सिकाइ केन्द्र र शौचालय निर्माण

त्यसैगरी एमालेले २६ वटा अस्थायी सिकाइ केन्द्र र आठ वटा अस्थायी शौचालय निर्माण गरेको जनाएको छ । हालसम्म १६२ वटा भग्नावशेष भवन व्यवस्थापन गरिएको छ । 


जिल्ला बाहिरबाट आएको स्वयंसेवक टोली १९ गतेसम्म प्रभावित क्षेत्रमा खटिने पार्टीले जनाएको छ । त्यसपश्चात् भूकम्प प्रभावित क्षेत्रमा जिल्लाको टोली मात्र अस्थायी आवास तथा पुनर्निर्माणको काम गर्ने जिल्ला अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

यसका साथै पार्टीले औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ । डा. धर्म भट्टराईको नेतृत्वमा रहेको सो टोलीले ३५० जना प्रभावितलाई सेवा दिएको बताएको छ ।