सिराज खान
नेपालगन्ज, मङ्सिर १५ गते । पश्चिम नेपालको केन्द्र रहेको नेपालगन्जबाट कार्यालय सार्न खोजेपछि स्थानीय सङ्घ संस्थाले विरोध गर्दै बैङ्कको कार्यालयमा तालाबन्दी गरेका छन् ।
यसअघि स्थानीय नागरिकको चर्को विरोधका बाबजुद नेपालगन्जमा रहेको सरकारी तथा गैरसरकारी निकायका विभिन्न क्षेत्रीय कार्यालय बुटवललगायतका विभिन्न ठाउँमा सारिएका थिए । सोही क्रममा बिहीबार राष्ट्रिय वाणिज्य बैङ्कको प्रादेशिक कार्यालय नेपालगन्जबाट बुटवल सार्न लागेको खबर पाएपछि निजी क्षेत्रको अगुवा संस्था नेपालगन्ज उद्योग वाणिज्य सङ्घले कार्यालयमा तालाबन्दी गरेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको नेतृत्वमा गएको टोलीले नेपालगन्जस्थित वाणिज्य बैङ्कको प्रादेशिक कार्यालयमा तालाबन्दी गरेर नसार्न चेतावनी दिँदै सार्न खोजिएमा आन्दोलन चर्काउने घोषणा गरेको छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले तालाबन्दी गरेर नेपालगन्जबाट एकपछि अर्कोगरी कार्यालय अन्त सारेर नेपालगन्ज सुनसान बनाउने कार्य भइरहेकाले सोको विरोध गरिएको बताउनुभयो । उहाँले बैङ्क व्यवस्थापनसँग सो निर्णय तुरुन्त पुनर्विचार गर्न माग समेत गरिएको बताउनुभयो ।
नेपालगन्जलाई लुम्बिनी प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दैआएको सङ्घले राजधानीको माग पूरा नभएपछि विभिन्न क्षेत्रीय र प्रादेशिक कार्यालय राख्नु पर्ने र यो सहरको महत्वलाई जीवन्त राख्नु पर्ने माग गर्दैआएको थियो ।
बेला बेलामा नेपालगन्ज आउने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले समेत विभिन्न प्रादेशिक तथा क्षेत्रीय कार्यालय यहाँबाट नसार्ने प्रतिबद्धता जनाउँदै आए पनि सार्न लागिएकोमा विरोध गरिएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।