गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), मङ्सिर १५ गते । इजरायली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजरायल र हमासबिच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ ।
“हमासले जारी विरामको उल्लङ्घन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको छ”, इजरायली सेनाले भनेको छ, “आइडिएफ (इजरायली सुरक्षा बल) ले गाजापट्टीमा हमास लडाकु समूहविरुद्ध पुनः लडाइँ सुरु गरेको छ ।”
उक्त घोषणा गाजाबाट प्रहार गरिएको एउटा रकेटलाई रोकेको बताएको केही मिनेटपछि आएको हो । सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो ।
गाजाभित्र रहेका एएफपीका एक पत्रकारका अनुसार इजरायली लडाकु विमानहरूले धेरै हमला गरेका छन् र गाजा सहरमा तोप प्रहार भएको छ । युद्धको पुनः सुरुआतले सात दिने युद्धविरामको विस्तारको अपेक्षाहरूलाई धराशायी बनाएको छ । सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा हमासबाट दर्जनौँ बन्धकलाई रिहा गरिएको थियो । युद्धविरामले क्षतिग्रस्त गाजापट्टीमा थप सहयोगका लागि अनुमति दिएको छ ।
बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायली र प्यालेस्टिनी अधिकारीहरूसँग भेटेर शत्रुता रोक्ने क्रमलाई बढाउन आह्वान गर्नुभएको थियो । साथै उहाँले युद्धको कुनै पनि सुरुआतले प्यालेस्टिनी नागरिकको रक्षा हुनुपर्ने चेतावनी दिनुभयो ।
युद्धविरामले अक्टोबर ७ देखि सुरु भएको युद्धलाई रोकेको थियो । हमासका लडाकुहरू गाजाको सैन्यकृत सीमा तोडेर इजरायलमा पसेपछि युद्ध सुरु भएको थियो । इजरायली अधिकारीहरूका अनुसार अचानक भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमास लडाकुहरूले करिब दुई सय ४० मानिसलाई अपहरण गरेका थिए ।
जवाफमा इजरायलले हमासलाई निमिट्यान्न पार्ने वाचा गर्दै गाजामा हवाई र स्थल आक्रमण सुरु गर्यो । हमास सरकारका अनुसार इजरायली हमलामा अधिकांश सर्वसाधारणसहित १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
कतारको मध्यस्थतामा भएको युद्धविरामका क्रममा दुई सय ४० प्यालेस्टिनी बन्दीहरूको बदलामा ८० इजरायली बन्धकलाई मुक्त गरिएको थियो । इजरायलमा बसोबास गर्ने २० भन्दा धेरै थाईलाई सम्झौताको दायराभन्दा बाहिर रहेर मुक्त गरिएको थियो । दुई महिलालाई मुक्त गरिएको केही घण्टापछि रातारात थप छ इजरायलीलाई रिहा गरिएको थियो । ती इजरायलीसँग दोहोरो राष्ट्रियता थियो ।
यसबाट बिहीबार रिहा हुने कुल मानिसको सङ्ख्या आठ भएको छ । यो युद्धविराम सम्झौताअन्तर्गत हमासले रिहा गर्नका लागि आवश्यक प्रतिदिन १० बन्धकभन्दा कम हो । हमासको एक निकट स्रोतका अनुसार उसले सातौँ खेपको हिस्साका रूपमा बुधबार रिहा गरिएका दुई रुसी–इजरायली महिलालाई गणना गरेको छ । रासस/एएफपी