• १२ असार २०८१, बुधबार

शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक

blog

बाँकेको खजुरा गाउँपालिकाको कार्यालय । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, मङ्सिर १५ गते । बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयहरूमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ । 

शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विद्यालयमा स्थायी दरबन्दी बाहेकका मावि शिक्षक भए पनि स्थायी दरबन्दीका आधारमा आधारभूत तहका शिक्षकलाई प्रअको जिम्मेवारी दिँदा विभिन्न समस्या देखिएपछि तहगत शिक्षकलाई विद्यालयको नेतृत्व दिइएको जानकारी दिनुभयो । 

गाउँ कार्यपालिकाले कार्यविधि निर्माण गरेर चालु आर्थिक वर्षदेखि खजुराले प्रअ मिलान गरेको हो । शिक्षा शाखा प्रमुख मल्लले भन्नुभयो, ‘तहगत प्रमुख नियुक्ति भएपछि विद्यालयमा शैक्षिक र प्रशासनिक सुधारको अनुभूति देखिन थालेका छन् ।’

प्रअ मिलानका लागि १९ जना शिक्षकलाई विभिन्न विद्यालयमा पठाइएको छ । यसरी पठाइएकामध्ये ११ जना प्रअको जिम्मेवारी दिई पठाइएको गाउँपालिकाले जनाएको छ । खजुरामा ३० सामुदायिक र १९ मदरसा तथा गुरुकुल छन् । 

तहगत मिलान गरिँदा पहिलेदेखि प्रअको जिम्मेवारीका रहेका शिक्षक पुनः सोही विद्यालयमा प्रअ हुने अवस्था नभएपछि अन्य विद्यालयमा सहमतिको आधारमा प्रअको जिम्मेवारी दिइएको छ । 

गाउँपालिकाका अध्यक्ष डम्बर विकले कामचलाउ प्रअको नेतृत्व हुँदा केही विद्यालयमा समस्या देखिएपछि कार्यविधि बनाएर प्रअ मिलान गरिएको दाबी गर्नुभयो । प्रअ मिलानहरू शिक्षक सङ्घ सङ्गठनका नेतृत्व लगायतसँग परामर्श गरिएको र अधिकांश शिक्षकबाट सकारात्मक सहयोग प्राप्त भएको अध्यक्ष विकले बताउनुभयो । 

यसबाट नियमित पठनपाठनसँगै व्यवस्थापनका अन्य काममा समेत परिवर्तन देखिन थालेको अध्यक्ष विकले बताउनुभयो । गाउँपालिकाले प्रअ मिलानमा असहमति जनाउँदै खजुरा –४ स्थित अम्बेमाता आधारभूत विद्यालयका पूर्व प्रअ अम्बिका थापाले अदालतमा चुनौती दिनुभएको छ ।