• १५ मंसिर २०८१, शनिबार

सडक दुर्घटनामा एकसय २२ जनाको मृत्यु

blog

मुकुन्द सुवेदी

बर्दिया, मङ्सिर १५ गते । बर्दियामा सडक दुर्घटनामा परी साढे तीन वर्षको अवधिमा एकसय २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको पछिल्लो साढे तीन वर्षको तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी एकसय २२ जनाको मृत्यु भएको हो । 

आर्थिक वर्ष २०७९–८० मा मृत्यु हुनेको सङ्ख्या ३३, आर्थिक वर्ष २०७८–७९ मा मृत्यु हुनेको सङ्ख्या ४६,  आर्थिक २०७७–७८ मा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ गरी एकसय १६ जना रहेको छ । चालु आर्थिक वर्षको मङ्सिर १५ गते म्म ६ जनाको मृत्यु भएको छ । 

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये पुरुष ८७ जना, महिला २६ जना, बालक ७ जना र बालिका २ जना छन् । सोही अवधिमा घाइते हुनेको सङ्ख्या चारसय ५० छ ।

सडक दुर्घटना हुनुको प्रमुख कारणको रुपमा सडकको अवस्था, सवारी साधनको अवस्था, सवारी चालकको अवस्था, सवारी साधनको गति मुख्य हुने गरेको जिल्ला ट्राफिक कार्यालयका बर्दियाका प्रमुख प्रहरी नायब निरीक्षक ओमबहादुर खड्काले बताउनुभयो । 

उहाँले कतिपय अवस्थामा बाटो काट्ने यात्री, सडकमा रहेका छाडा पशुचौपाया, सवारीसाधन र यात्रा गर्ने यात्रुका कारण पनि सडक दुर्घटना हुने गरेको छ । 

ट्राफिक हवलदार कृष्ण डाँगीले ट्राफिक नियमको बारेमा थाहा हुँदाहुँदै पनि ट्राफिक नियमको पालना नगर्ने प्रवृत्तिले सडक दुर्घटना बढी हुनेगरेको बताउनुभयो । 

५७ प्रतिशत मोटरसाइकल दुर्घटना 

पछिल्लो साढे तीन वर्षमा बर्दियामा भएको कुल सडक दुर्घटनामध्ये ५६.९४ प्रतिशत सडक दुर्घटना मोटरसाइकल रहेको पाइएको छ । साढे तीन वर्षको तथ्याङ्क हेर्दा ४२५ वटा दुर्घटनामध्ये २ सय ४२ वटा अर्थात (५६.९४ प्रतिशत) दुर्घटना मोटरसाइकलको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ  

जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक ओमबहादुर खड्काले प्रत्येक वर्ष सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विद्यालयमा गएर विद्यार्थीसँग, सडकमा सडक यात्रीहरूसँग र सवारी चालकसँग ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दैआएको बताउनुभयो ।

प्रहरी नायब निरीक्षक खड्काले भन्नुभयो, ‘अन्य सवारी साधनको तुलनामा मोटरसाइकल असुरक्षित मानिन्छ । मोटरसाइकल चलाउने मानिसले हेलमेट नलगाउने, हेलमेट लगाए पनि हेलमेटको फित्ता नबाँध्ने, मोटरसाइकलमा तीन जना बस्ने र तीव्र गतिमा कुदाउने गरेको पाइन्छ ।’ 

सडक दुर्घटना कम गर्न कार्यालयले  नियमित र व्यवस्थित रुपमा चेकजाँच गरेको प्रमुख खड्काले बताउनुभयो ।