• १२ मंसिर २०८१, बुधबार

रूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरी

blog

प्रतीक शर्मा

सल्यान, मङ्सिर १५ गते । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाईली ठकुरीले विकासलाई योजनावद्ध रुपमा अघि बढाउन बहुमत सहित सरकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो माओवादीको नेतृत्वमा स्थिर र बहुमतको सरकार नभए सम्म विकास गति लिन सक्तैन । जनताले चाहे जस्तो विकास र समृद्धिका लागि एकल बहुमत सहितको सरकार चाहिएको छ ।

नेकपा(माओवादी केन्द्र) सल्यानले कुमाख गाउँपालिका चिसापानीमा आयोजना भएको सङ्कल्प सभालाई सम्बोधन गर्दे मन्त्री सुशीला सिर्पाईली ठकुरीले जनयुद्ध र जनआन्दोलनले रैतीबाट जनतालाई मालिकको स्तरमा उठेको बताउनुभयो । उहाँले भन्नुभयो  एकात्मक राज्यव्यवस्थालाई सङ्घीयता, समावेशी,समानुपातिक अधिकार जनतालाई अधिकार सम्पन्न बनाएको छ । त्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । कस्तुरीको विनाको सुगन्ध कस्तुरीसँगै भएजस्तै माओवादीको सुगन्ध माओवादीभित्र खोज्नुपर्छ । उत्पीडनमा पारिएको समाजलाई माओवादी जनयुद्धले नेतृत्व सम्म पुराउने इतिहास लेखेर आएकोले अहिलेको व्यवस्थाको विरुद्ध आउनेलाई परास्त गर्नलाई रूपान्तरणको आवश्यकता छ ।

राष्ट्रिय एकता कायम गरेर विकासमा सबै केन्द्रित हुनपर्दछ सिर्पाईलीले भन्नुभयो   संविधानलाई कार्यान्वयन गरेर अघि बढ्न सवै दल एक भएर समाजवाद स्थापनाका लागि अघि बढ्नुपर्दछ । 

कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मन्त्री नरेश भण्डारीले  जनताको अधिकार स्थापित गर्ने र विकासलाई गति दिने माओवादी शक्ति रूपान्तरण भएर जनताका सेवामा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो माओवादीको रूपान्तरणले नै समाजलाई अगाडी बढाउने छ ।