धनगढी समाचारदाता
धनगढी, मङ्सिर १५ गते । विगतमा पर्चा, पम्प्लेट र भित्तेलेखनले भरिभराउ धनगढीस्थित पार्क क्षेत्रको पर्खाल अब कला संस्कृतिले सुसज्जित हुन थालेको छ ।
सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो । राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ ।
धनगढीपार्क क्षेत्रका पर्खाल विगतमा पर्चा, पम्प्लेटले भरिभाउ हुन्थ्यो । राजनीतिक दलका पम्प्लेटदेखि विभिन्न संस्था, व्यापारिक फर्मका पर्चा पर्खालमा टाँसिएका हुन्थे । अब भने त्यसमा थारू समुदायको सखिया नाच, पहाडी समुदायको भुवा नाच, रानाथारू समुदायको मौलिकता झल्काउने चित्र बनाइएको छ ।
यसै गरी सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसहित प्रसिद्ध धार्मिक स्थलको चित्र पनि पर्खालमा उतारिएको छ । धनगढीको सौन्दर्य बढाउने उद्देश्यका साथ पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थलको उजागर गर्ने खालका चित्र बनाउने कार्य भइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो ।
“अहिले धनगढी रङ्गशालाको पर्खालबाट सौन्दर्यीकरणको कार्य सुरु भएको छ,” उहाँले भन्नुभयो, “तर नगर क्षेत्रको यस्ता सबै पर्खाललाई सजाउने काम गर्छौैं।” सहरमा भएका पर्खाल अहिलेसम्म राजनीतिक दलको नारा लेख्न, पर्चा, पम्प्लेट टाँस्न मात्रै कामै आएको उल्लेख गर्दैै प्रमुख हमालले अब त्यसलाई सुन्दर बनाउने उल्लेख गर्नुभयो ।
पर्खालमा बनाइएको चित्रले कला, संस्कृति र पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने जनाइएको छ । पेन्टिङ गरिएको पर्खालमा जथाभावी पर्चा, पम्प्लेट नटाँस्न, नलेख्न र पान, गुट्खा खाएर नथुकी दिन उपमहानगरपालिकाले आग्रह गरेको छ ।
‘हाम्रो धनगढी हामी बनाउँछौँ,’ अभियान सञ्चालन गरी धनगढी सहरलाई सफा, सुग्घर र सुन्दर बनाउने पहल भइरहेको छ । सहरी क्षेत्रबाट उत्पन्न हुने फोहोर व्यवस्थापनका लागि फोहोरबाटै मोहर बनाउने कार्य जारी छ । सो पालिकामा प्लास्टिक प्रयोगमा रोक लगाइएको छ ।