• ४ पुस २०८१, बिहिबार

प्रदेश सरकारको कामको समीक्षा

थप प्रभावकारी बनाउने प्रतिबद्धता

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर १५ गते । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, हालसम्मको प्रगति र सेवा प्रवाहका बारेमा समीक्षा गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम कार्यान्वयन, प्रगति, कामको प्रभावकारिता र आगामी रणनीतिका बारेमा मुख्यमन्त्री र मन्त्रीहरूबिच छलफल भएको हो ।

प्रदेश सरकारका कामलाई चालु आर्थिक वर्षको बाँकी अवधिमा कसरी प्रभावकारी बनाउने, बागमती प्रदेश अन्तर्गतका समितिहरूको सभापति चयन, प्रतिपक्षी दलहरूसँगको सहमति कार्यान्वयनलगायत विषयमा छलफल भएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो ।

प्रदेश पूर्वाधार विकास कार्यक्रम, चालु आवमा रहेको बजेट खर्च, थप विधेयक निर्माण, प्रदेश सभामा रहेका विधेयकका बारेमा छलफल भएको बताउँदै सल्लाहकार ढकालले विकास निर्माणसम्बन्धी कामको प्रगतिसँगै विकास निर्माणको कार्य सम्पादनमा भएको असहज वा समस्या भएमा फुकाउने बारेमा समेत छलफल भएको बताउनुभयो । 

छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने र कुनै समस्या वा असहजता भएमा बाटो फुकाउने प्रतिबद्धता जनाउनुभएको सल्लाहकार ढकालले बताउनुभयो । प्रदेश सभाबाट बजेट पारित गर्ने समयमा प्रदेश सभाको प्रमुख विपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने चुनौती प्रदेश सरकारसमक्ष रहेको छ । बजेट निर्माणपूर्व भएको सहमति कार्यान्वयन नभएको र बजेटमा एकलौटी गरेको भन्दै एमाले र राप्रपाले विरोध जनाउँदै आएका छन् । 

गत असारमा चालु आवको बजेटमाथिको छलफलका क्रममा प्रदेश सभाको बैठक अवरुद्ध गरेपछि सरकार र विपक्षी दलबिच बजेटमा विपक्षी दलको माग सम्बोधन गर्ने सहमति भएको थियो । पछि बैठक सुचारुसँगै प्रदेश सभाबाट बजेट पारित भएको थियो । 

मुख्यमन्त्री र मन्त्रीहरूबिचको छलफलमा मन्त्रालयहरूबिच समन्वयमा समस्या देखिएको भन्दै काममा एकले अर्कोलाई देखाउने भन्दा समन्वय गरेर जानेबारेमा समेत छलफल भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको चालु आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि निर्माण कार्यमा ढिलाइ भएकोलगायत विविध विषयमा छलफल भएको बताउनुभयो । 

उहाँले गत भदौ महिनाभित्रै प्रदेश मन्त्रालयको कार्यविधि बनाइसक्ने भनिए पनि सो अनुसार काम नभएको बताउँदै कार्यविधि निर्माणमा ढिलाइ हुँदा कार्यक्रम कार्यान्वयनमा पनि ढिलाइ हुने गरेको जानकारी दिनुभयो । 

आगामी दिनमा प्रदेश सरकारको जनताका कामलाई अझ प्रभावकारी बनाउने बारेमा छलफलसँगै प्रतिबद्धता जनाइएको उहाँले बताउनुभयो । उहाँले चालु आवमा अर्थ विविध शीर्षकमा रहेको बजेट कहाँ कसरी खर्च गर्ने, बजेट विनियोजन गर्न छुटेका क्षेत्रको पहिचानसँगै बजेटका बारेमा एमाले र राप्रपासँग भएको सहमति कार्यान्वयन गर्ने विषयमा  छलफल भएको जनाइएको छ ।