वालिङ समाचारदाता
वालिङ, मङ्सिर १५ गते । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेर बोटबाट झर्न थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन् ।
पुतलीबजारका मुक्ति अधिकारीले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गर्न तयार पारेका बेला औँसे किराका कारण बोटबाट झर्न थालेको बताउनुभयो ।
गत वर्ष राम्रो आम्दानी गरेको तर यसपालि कम फलेका छन्, त्यसमा पनि किरा लागेर बोटबाट झर्न थालेपछि चिन्ता बढेको उहाँले बताउनुभयो ।
उत्पादन लिने बेलामा पतेरोले समेत असर गरेको भन्दै यसअघि साउन र भदौमा विषादी प्रयोग गरेर जोगाइएको सुन्तला फेरि झर्न थालेको अर्का कृषक हुमकान्त अधिकारीले बताउनुभयो । उहाँले सुन्तलाको बिमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।
सुन्तला सुपर जोन कार्यालयले सुन्तलामा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि खसेका सुन्तला राख्नका लागि प्लास्टिक वितरण गरिएको छ । सुन्तलामा लागेका रोग तथा किरा फैलिन नदिन त्यस्तो गरिएको सुन्तला सुपर जोनका कार्यालय प्रमुख माधव लम्सालले बताउनुभयो ।
चाइनिज फ्रुट प्लाई अर्थात् औँसा किराको चक्र ब्रेक गर्न झरेका सुन्तला प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने गरेको उहाँले बताउनुभयो ।
झरेका सुन्तला भुइँमा नष्ट गरियो भने फेरि जमिनमा किराले फुल पार्ने र अर्को सिजनका सुन्तलालाई असर गर्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । सबैले औषधी छरेको भए यस्तो अवस्था आउँदैनथ्यो ।
जिल्लाभित्र दुई हजार एक सय हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । स्याङ्जामा गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन हँुदा एक अर्ब ३८ करोड रुपियाँको कारोबार भएको थियो ।