• १४ असार २०८१, शुक्रबार

सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला

blog

सीपमूलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर

भोजपुर, मङ्सिर १४ गते । सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका-८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् । 

वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक तालिम लिएसँगै अहिले सिलाइ कटाइको काम गर्दै आएको स्थानीयवासी चन्द्रकला राईले बताउनुभयो । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । सिलाइकटाइ व्यवसायबाट घर खर्चको जोहाे गर्न सहज भएको उहाँले बताउनुभयो ।

“वडामा नै सीप पाएपछि अहिले यही व्यवसाय सञ्चालन गरेकी छु” उहाँले भन्नुभयो, “हामीजस्ता गृहणी महिलालाई अन्य ठाउँमा गएर सीप लिन समस्या हुन्छ । आफ्नै ठाउँमा वडाको पहलमा सीप पाएसँगै यही सिलाइकटाइ व्यवसाय गर्दै आएकी छु । यसले मलाई आत्मनिर्भर बनाएको छ ।” सीप लिएपछि आत्मनिर्भर बन्नमा सहजता थपेको स्थानीयवासी रेनु राईले बताउनुभयो । 

स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको उहाँको भनाइ छ । सीप नहुँदा  व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उहाँले बताउनुभयो । “सीप नहुँदा कुनै पनि काम गर्न सकेकी थिइनँ” उहाँले भन्नुभयो, “घरधन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो । 

वडाले तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएपछि आफैँ स्वरोजगार बनेकी छु । अहिले यही कामले घरखर्च जोहाे गर्न सहजता भएको छ ।” वडा कार्यालयले सीप लिन इच्छुक २५ जना महिलालाई आवश्यक तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएको हो । वडाले यहाँका महिला तथा युवालाई स्वरोजगार बनाउनको लागि रोजगारीलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । 

स्थानीयलाई स्वरोजगार बनाएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने योजनाका साथ काम गरिरहेको उहाँको भनाइ छ ।“वडाले रोजगारलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको छ”वडाध्यक्ष राईले भन्नुुभयो, “स्थानीयवासीको क्षमता वृद्धिसँगै आवश्यक सीप दिँदै आएका छौँ । गतवर्ष सिलाइकटाइको तालिम लिएका महिला दिदीबहिनीलाई मेसिन पनि वितरण गरेका छौँ । धेरै दिदीबहिनी अहिले व्यवसायमा जोडिनुभएको छ ।” युवालाई स्वरोजगार बनाउन १५ जनालाई हाउस वायरिङको तालिम दिएको वडाध्यक्ष राईले बताउनुभयो । 

तालिम लिएका युवा पनि अहिले व्यावसायिक बन्दै गएको उहाँको भनाइ छ । गाउँमा नै विद्युत विस्तारको काम भइरहेकोले उनीहरुले त्यही काम गरेर आम्दानी लिन थालेको अध्यक्ष राईले जानकारी दिनुभयो । “आयआर्जनसँग जोडिन सीप अपरिहार्य छ ।” उहाँले भन्नुभयो, “सीप लिएका युवालाई गाउँघरमा नै काम भ्याइनभ्या छ । सीपको कारण स्थानीयवासीले केही आम्दानी गरिरहेका छन् । तालिम लिएकालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्दै आएका छौँ ।” भावी दिनमा पनि सीपमूलक तालिमलाई निरन्तरता दिइने उहाँको भनाइ छ । 

वडामा आउने बजेटले मात्र धेरै काम गर्न सम्भव नभएकाले विभिन्न निकायसँगको समन्वय  तथा सहकार्यमा काम गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । आफ्नो वडा भौगोलिक रुपमा विकट भए पनि उर्वरभूमि भएकाले कृषिको विकासमा पनि योजना बनाएर काम गरिरहेको उहाँको भनाइ छ । 

वडाले तालिम दिएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको वडाध्यक्ष राईले बताउनुभयो । “वडामा त्यति धेरै विकास बजेट त आउँदैन” उहाँले भन्नुभयो, “बजेटको सीमा सीमित भए पनि त्यसलाई अधिकतम उपयोग गर्ने कोसिस गरिरहेका छौँ । हामीले स्थानीयवासीको दैनिक जीवनमा परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यो वडालाई नमुना वडा बनाउने मेरो लक्ष्य छ ।” रासस