लीलाधर वली
घोराही, मङ्सिर १४ गते । दाङमा जिल्ला प्रशासन कार्यालयमार्फत ५४ वर्षको अवधिमा पाँच लाखभन्दा बढीले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट मात्र जिल्लाका ५ लाख २ हजार ५ सय ३९ जनाले नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
यो तथ्याङ्क २०२६ साल चैत १६ गतेदेखि गत कात्तिक महिनासम्मको हो । यसमध्ये चार लाख ९७ हजार पाँचसय ६५ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । यसैगरी उहाँका अनुसार वैवाहिक अङ्गीकृत आधारमा ६ सय ७ जना, जन्मको आधारमा ७ सय जना र अङ्गीकृत ३७ जनाले नागरिकता प्राप्त गरेका छन् ।
यसैगरी इलाका प्रशासन कार्यालय लमहीले तीन वर्षको अवधिमा १३ हजार ४ सय ५३ जनालाई नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्षदेखि अहिलेसम्मको इलाका प्रशासन कार्यालय तुलसीपुरबाट नागरिकता पाउनेको सङ्ख्या १० हजार १५ रहेको छ ।
इलाका प्रशासन कार्यालय लमही र इलाका प्रशासन कार्यालय तुलसीपुरले २०५१ सालदेखि स्थापना भएर नियमित नागरिकता प्रदान गर्दैआए पनि पुरानो तथ्याङ्क प्राप्त हुन नसकेको इलाका प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीबाट चालु आर्थिक वर्षमा नागरिकता पाउनेको सङ्ख्या ६ हजार ६ सय ८१ जना छ ।
जसमा जिल्ला प्रशासनय कार्यालय घोराहीबाट तीन हजार तीनसय ३० जना, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट दुई हजार १५ जना र इलाका प्रशासन कार्यालय लमहीबाट एक हजार ३६ जनाले नागरिकता प्राप्त गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई व्यवस्थित रुपमा राख्ने उद्देश्यअनुसार २०२६ साल यताको तथ्याङ्क तयार गरिएको बताउँदै भन्नुभयो, ‘हरेक कार्यालयले प्रदान गर्ने सेवा प्रवाहको व्यवस्थित तथ्याङ्क हुन जरुरी छ ।’
आमाको नामबाट १२ लाई नागरिकता
यसैबीच जिल्ला प्रशासन कार्यालय दाङबाट आमाको नामबाट १२ जनाले नागरिकता प्राप्त गुर्नभएको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार २०८० वैशाख महिना यता जिल्ला प्रशासन कार्यालयबाट १२ जनाले आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।
आमाको नामबाट पनि नेपाली नागरिकता दिने व्यवस्थाअनुसार गत वर्षदेखि जिल्लामा वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म २ जना नागरिकले गैरआवासीय नागरिकता प्राप्त गर्नुभएको छ । उहाँहरु दुवै जनाले गत कात्तिक महिनामा गैरआवासीय नागरिकता प्राप्त गर्नुभयो ।
१५ को नागरिकता बदर
यसैगरी जिल्ला प्रशासन कार्यालय दाङबाट हालसम्म १५ जनाको नेपाली नागरिकता बदर भएको छ । नियमविपरीत नागरिकता प्राप्त गरेको १५ जनाको नागरिकता बदर गरिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअवधिमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेका ३ जनाले नेपाली नागरिकता त्याग गर्नुभएको छ ।