• १२ साउन २०८१, शनिबार

लोकतान्त्रिक प्रणालीको अभ्यास गर्न सङ्कल्प यात्रा : अध्यक्ष ओली

blog

सङ्कल्प यात्रा आरम्भ गर्नुहुँदै अध्यक्ष ओली । तस्बिरः प्रकाशविक्रम शाह, नेता विष्णु रिमालको फेसबुक पेज

प्रकाशविक्रम शाह/गोकर्ण दयाल 

गोठालापानी (बैतडी), मङ्सिर १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अराजकता र अस्थिरता बढेकाले त्यसलाई रोक्न सङ्कल्प यात्रा गर्नुपरेको बताउनुभएको छ ।

राष्ट्रिय एकता र सम्वृद्धिका लागि बैतडीको झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्राको उद्घाटन गर्न बैतडी पुग्नुभएका अध्यक्ष ओलीले राजनीतिक अस्थिरता अराजकतातर्फ मोडिएकाले देशमा प्रतिगामी शक्ति टाउको उठाइ रहेको टिप्पणी गर्नुभयो ।  

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै बिहीबार सङ्कल्प यात्राको उद्घाटनपछि गोठालापानीमा आयोजित सभालाई सम्बोधन गर्दै देश र जनाता अब कसैको अधिनमा नरहने स्पष्ट पार्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अस्थिरता, अराजकता र आर्थिक सङ्कट निम्तिएका बेला केही तत्व उहिलेका राजाको सालिक बनाएर अहिले जय–जयकार गरिरहेका छन् । लोकतन्त्रको बिरोध गर्ने दुस्साहस गरिरहेका छन् । देश अब पछाडि फर्किन सक्दैन ।”


अध्यक्ष ओलीले जनता अब कसैका रैती बन्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले जन्मजात कसलाई राजा मान्न नसकिने बताउनुभयो । “देशलाई अराजकतातर्फ जानबाट एमालेले रोक्छ” अध्यक्ष ओलीले भन्नुभयो, “अराजकता र अस्थिरतालाई रोक्दै देश अब सम्वृद्धिको बाटोमा अघि बढेको छ । त्यसको सुरुवात एमालेको बैतडीको झुलाघाटबाट पूर्वको पाँचथरको चिवा भञ्ज्याङ्गको सङ्कल्प यात्राले तय गरेको छ ।” 

अध्यक्ष ओलीले संकल्प यात्रा संबादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली सम्वृद्ध नेपाल बनाउने यात्रा भएको बताउनुभयो । 

अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङसम्मको मध्यपहाडी भूभागको अध्ययन, अवलोकन गरी विकासको सम्भावना पहिल्याउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “मध्यपहाडी भूभागको यात्राका क्रममा युवाहरुलाई स्वदेशमै टिकाउन, उच्चस्तरी शिक्षा, गुणस्तरी स्वास्थ्य, रोजगारीका अवसर के केसरी सिर्जना गर्न सकिन्छ ? भन्ने विषयमा जनतासँग सघन सम्वाद गर्छौ ।” 

अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीले बताउनुभयो । झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा पाँचथरको चिवा भञ्ज्याङ पुगेर पुस १ गते झण्डोत्तोलन गरी समापन हुने  उहाँले बताउनुभयो । 

सङ्ल्प यात्रामा आमजनता उत्साही भएको देख्दा खुसी लागेको बताउनुहुँदै ओलीले यात्रामा हिँड्ने शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र जनवर्गीय संगठनको भूमिकाले ठूलो योगदान गर्ने बताउनुभयो । 

एमालेले सुरु गरेको सङ्ल्प यात्राले सरकारी अकर्मण्यता, ओरालो लागेको अर्थतन्त्र, अराजक र अस्थिर राजनीतिलाई सही दिशानिर्देश गर्ने उहाँले दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “सङ्कल्प यात्राले देश विकासका लागि चिन्तन मनन गर्न मद्दत पुग्नेछ । राष्ट्रिय हितमा योगदान पु¥याउने, सकारात्मक परिवर्तन गर्न सकारात्मक नेतृत्व र शक्तिको आवश्यकता रहेकाले त्यसको नेतृत्व एमालेले गरेको छ । यात्रामा सबै अनुशासित भएर सहभागी हुनेमा विश्वास व्यक्त गर्दछु ।” 


एसका अध्यक्ष एमाले प्रवेश

एमालेले सुरु गरेको सङ्कल्प यात्राको अभियानका क्रममा नेकपा ( एकीकृत समाजवादी) का बैतडी अध्यक्ष महावेद भट्ट, केन्द्रीय सदस्य नरेन्द्र बिष्ट, प्रदेश कमिटी सदस्य पार्वती भट्ट, रचमन भण्डारीसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।  

अध्यक्ष ओलीले पार्टीले उहाँहरुलाई टीका लगाएर पार्टी प्रवेश गराउँदै देशको विकास एमालेले मात्रै गर्नसक्ने भएकाले पार्टीमा आबद्ध हुन आएकालाई स्वागत गरिएको बताउनुभयो ।