• १२ साउन २०८१, शनिबार

विपन्न विद्यार्थी अध्ययन खर्च जुटाउन विद्यालयमै कुखुरापालन

blog

विद्यालय सुरु गरेको कुखुरापालन व्यवसाय । तस्बिर सौजन्य: कन्यादेवी माध्यमिक विद्यालय

अमरराज नहर्की

तनहुँ, मङ्सिर १४ गते । आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न यस विद्यालयले विद्यार्थी पढ्ने कार्यसँगै कमाउने अवसर दिन कुखुरापालन व्यवसाय सुरु गरेको हो  ।

गाउँपालिकाले विद्यालयमा कार्यक्रम सुरु गरेपछि विद्यालयमा पढाइसँगै विद्यार्थी कृषि पेसामा आबद्ध भएका छन्  । एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिकाले पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले बताउनुभयो  । विद्यालयमा हाल एक सय २५ विद्यार्थी अध्ययनरत मध्ये  हाल २० जना विद्यार्थी कुखुरापालनमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो । 

गत असारको ६ गते दुई सय वटा स्थानीय जातका चल्ला ल्याएर पाल्न सुरु गरिएको र हाल बिक्री गर्न लायक भएको प्रधानाध्यापक गुरुङले जानकारी दिनुभयो  । प्रतिकिलो भाले  आठ सय र पोथी सात सयमा बिक्री गर्ने गरिएको विद्यालयले जनाएको छ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । सो विद्यालयमा आर्थिक रूपमा विपन्न, दलित, आदिवासी जनजाति बालबालिका अध्ययन गर्ने भएको सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । 

विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको छ । कुखुरापालनबाट आएको मुनाफा विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम व्यवस्था गरिएको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिनुभयो  । विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षातर्फ आकर्षित गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ ।