• १२ साउन २०८१, शनिबार

रारा तालमा जोखिमपूर्ण यात्रा

blog

मुगु समाचारदाता

मुगु, मङ्सिर १४ गते । सौन्दर्यकी रानीका रूपमा लिइने रारा तालमा जोखिमपूर्ण रूपमा पर्यटकले डुङ्गा यात्रा गर्ने गरेका छन्। उनीहरूले लगाउने लाइफ ज्याकेट ज्यादै पुराना र च्यातिएका छन्।

रारा ताल घुम्न चितवनबाट आएका र्‍याप्टिङ गाइड सुकबहादुर गुरुङका अनुसार रारा तालमा डुङ्गा यात्रा गर्नेले ज्यानको जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । यात्रुले प्रयोग गर्ने लाइफ ज्याकेट पुराना र थोत्रा रहेको, १० जना क्षमताको डुङ्गामा १४ देखि १६ जनासम्म राखिने गरेको छ ।

पुराना र च्यातिएका लाइफ ज्याकेटले दुर्घटनामा सुरक्षाको कुनै प्रत्याभूति नदिने र डुङ्गाको क्षमताभन्दा बढी यात्रु राखिनाले कुनै पनि बेला दुर्घटना हुने सक्ने चेतावनी गाइड गुरुङले दिनुभयो । 

रारामा प्रयोग भएका लाइफ ज्याकेट बढीमा तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका छन् तर अवस्था धेरै वर्ष पुरानो देखिएको यात्रुले जनाएका छन् । रारा घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटक दैनिक एक सयको हाराहारीमा आउने गरेका रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जनाएको छ । 

समितिका कार्यालय सचिव लोकेन्द्र बमका अनुसार ७० वटा लाइफ ज्याकेट र आठ वटा डुङ्गा खरिद गरेको सात वर्ष पुगेको छ । कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटसम्बन्धी त्यस्तो गुणस्तरीय जाँच गरेको छैन । तीमध्ये ३० देखि ४०  ज्याकेट पुरानो र काम नलाग्ने अवस्थाका छन् । डुङ्गा चढ्ने यात्रुको चापका कारण क्षमताभन्दा बढी यात्रु राख्ने गरेको सचिव बमले बताउनुभयो। 

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेले सेवाग्राहीको गुनासोलाई मध्यनजर गर्दै ताल सयरको व्यवस्थापनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।