• १२ साउन २०८१, शनिबार

ठेकेदारको लापरबाहीले यात्रुलाई सास्ती

blog

मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको अलपत्र सडक । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर १४ गते । सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नु परेको छ । लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार पुग्ने पर्यटकले सास्ती भोग्दै आएका छन् ।

स्थानीय प्रकाश न्यौपानेले सडकले सुविधाभन्दा बढी सास्ती दिएको बताउनुभयो । उहाँले निर्माणाधीन सडक धुलाम्मे र  पानी परेको समयमा हिलाम्मे हुने गरेको जानकारी दिनुभयो । सडकमा खाल्टाखुल्टीको समस्या पनि उत्तिकै छ । यो सडकमा खाल्टाखुल्टी र धुलो, धुवाँले हिँड्नै सकिने अवस्था नभएको उहाँको भनाइ छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नति थालिए पनि काम नै अलपत्र परेको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परिरहेको छ ।

वर्षौंदेखिको सडक सास्तीले स्थानीय नागरिक हैरान भएका छन् । दैनिक उक्त बाटो भएर विद्यालय जाने विद्यार्थी थप समस्यामा पर्ने गरेका छन् । विद्यार्थी स्कुल जाँदा होस् या ज्येष्ठ नागरिकलाई सडकमा हिँड्नै अप्ठ्यारो हुने गरेको स्थानीय लक्ष्मी थापाले बताउनुभयो । अलपत्र सडककै कारण पटक पटक दुर्घटना हुने गरेकोसमेत उहाँको भनाइ छ । सडक बन्नेमा स्थानीय टेकबहादुर थापालाई कुनै भरोसा छैन । उहाँले मुख्य बजारको पानीको नालासमेत यो नालामा जोडेको हुँदा यसले नालाको नजिक भएको बस्तीलाई झन् बढी दुःख दिने गरेको बताउनुभयो । 

सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको छ । सम्बन्धित निकायले पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ । यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको छ । पछिल्लो पटक २०७८ सालमा पुनः सम्झौता गरिएको थियो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ साल मङ्सिर १४ मा अमर–सिस्ने, नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको हो । सम्झौता अनुसार २०८० साल असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको छ । सम्झौता अनुसार २०८० साल फागुन १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको निर्देशनालयले जनाएको छ । १२ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीले काम अघि बढाएको छैन । दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ४२ प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार पाँच करोड रकम भुक्तानी भइसकेको छ । ठेक्का सम्झौता सकिन लगभग चार महिना मात्र बाँकी रहेको पूर्वाधार विकास निर्देशनालयका सबइन्जिनियर प्रेमचन्द्र पाण्डेले जानकारी दिनुभयो ।  ठेकेदारको लापरबाहीले सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परेको वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष ऋषि गिरीले बताउनुभयो । 

सडक स्तरोन्नतिमा ढिलाइ भएको भन्दै केही दिनअघि स्थानीयले सडक अवरुद्ध पारेका थिए । सडकको काम सुरु गर्ने सहमति भएपछि विरोध रोकिएको जनाइएको छ ।