• १२ साउन २०८१, शनिबार

आममाफी नदिन खबरदारी

blog

स्पेनी जनता मुलुक टुक्रिने हो कि भन्ने चिन्तामा छन् । सत्ता स्वार्थका लागि सरकारले क्याटलोनियाका पृथकतावादी नेता तथा अधिकारकर्मीलाई आममाफी दिने तयारी गरेसँगै जनता त्यसको विरोधमा उत्रेका हुन् । क्याटलोनियाको विषयलाई लिएर जनता सडक प्रदर्शनमा छन् । उनीहरूले क्याटलोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुन नल्याउन सरकारविरुद्ध खबरदारी गरिरहेका छन् । 

राजधानी म्याड्रिडलगायतका सहरमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजप्रति आक्रोश व्यक्त गर्दै उहाँलाई जेल हाल्न माग गरेका छन् । समाजवादी नेता सान्चेज हालै स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित हुनुभएको हो । उहाँले क्याटलोनियाका पृथकतावादी र अधिकारकर्मीलाई आममाफी दिने कानुन ल्याउने प्रस्ताव गर्नुभएको छ । यस्तो कानुन बनी क्याटलोनियाका पृथकतावादी र अधिकारकर्मीलाई आममाफी दिए मुलुक टुव्रिmन सक्ने भन्दै प्रदर्शनकारीले चिन्ता व्यक्त गरेका छन् । 

सान्चेज सन् २०१८ देखि सत्तामा हुनुहुन्छ । गत जुलाईमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी नेता अल्बर्टो नुनेज फेइजुपछि उहाँ दोस्रो स्थानमा आउनुभयो । उहाँले बहुमत पुग्नका लागि आवश्यक पर्ने मतको बदलामा क्याटलोनियाको सन् २०१७ को पृथकतावादी प्रयासमा संलग्न भएको आरोपमा मुद्दा चलाइएका पृथकतावादी नेता तथा कार्यकर्ताका लागि विवादास्पद आममाफी विधेयक पारित गर्नेलगायत थुप्रै सहुलियत स्विकार्नुभएको छ । “मलाई लाग्छ, यो लडाइँ अब सुरु हुन्छ,” प्रदर्शनमा सहभागी ५१ वर्षीय उद्यमी मारियानाले भन्नुभयो । अर्का प्रदर्शनकारी ६५ वर्षीय लुइस गैरिडोले प्रधानमन्त्रीले यो सर्त स्वीकार गर्न नहुने बताउँदै भन्नुभयो, “म स्पेन यसरी विभाजित होस् र डुबोस् भन्ने चाहन्नँ ।”

विगत दुई सातादेखि स्पेनमा सरकारविरोधी प्रदर्शन जारी छ । केही प्रदर्शनकारी पक्राउ परे पनि ठुला हिंसात्मक घटना भएका छैनन् । जनआक्रोश बढ्दै गएकाले परिस्थिति जटिल बन्दै छ । क्याटलोनियाको विषयलाई लिएर युरोपेली यो मुलुक वास्तवमै संवैधानिक सङ्कटमा फसेको छ । सन् २०१७ मा स्पेनको समृद्ध यो क्याटलोनिया राज्य स्वतन्त्र हुन खोजेपछि सरकारले संवैधानिक अधिकार प्रयोग गरी टुक्रिनबाट तत्काललाई जोगिएको थियो । त्यहाँ प्रत्यक्ष शासन लागु गरिएको छ । मुलुक टुक्र्याउन गरिएको दुष्प्रयासलाई असंवैधानिक भन्दै केन्द्रीय शक्ति प्रयोग गरी असफल पारिएको थियो । मुलुक टुक्र्याउन खोज्ने विद्रोही नेता र बर्खास्त गरिएका आठ जना मन्त्रीलाई पक्राउ गरी कैद गरिएको छ । 

क्याटलोनिया राज्यले छुट्टै राष्ट्रको माग गर्दै स्वतन्त्रता खोज्दा पाएको स्वायत्तताको अधिकारसमेत गुमाएको छ । आन्दोलनरत क्याटलोनियावासीको माग सम्बोधन गर्नुको सट्टा केन्द्र सरकारले क्याटलोनियाको स्वायत्त प्रशासन भङ्ग गर्दै प्रत्यक्ष शासन लागु गरेको हो । केन्द्र सरकार आन्दोलनकारी नेता तथा आन्दोलनरत क्याटलोनियावासीप्रति अनुदार र कठोर देखिएको छ । केन्द्र सरकार कठोर बनेपछि क्याटलोनियावासी आक्रोशित छन् । आफ्ना नेता तथा अधिकारकर्मीलाई जेल हालेर केन्द्र सरकारले क्याटलोनियावासीको आवाज बन्द गरिदिएपछि उनीहरू भित्रभित्रै मुर्मुरिएका छन् । स्वायत्तताको अधिकार गुमेपछि त्यहाँ केन्द्र सरकारको दमन भने बढेको छ । 

पटक पटकको आन्दोलनका क्रममा केन्द्र सरकारबाट सन् २००६ मा अलग राज्य, कर सङ्कलनसहित स्वायत्तताको अधिकार पाएका क्याटलोनियावासीको यो अधिकारलाई सन् २०१० मा त्यहाँको संवैधानिक अदालतले सरकारको निर्णयलाई अवैध घोषणा गरिदिएपछि नयाँ विवाद सुरु भएको थियो । अदालतको यो कदमपछि सरकार अनुदार बनेपछि आन्दोलनरत क्याटलोनियावासीले सन् २०१७ को अक्टोबर १ मा एकतर्फी जनमत सङ्ग्रह गराए । 

४३ प्रतिशत मतदाताले मतदानमा भाग लिए । २२ लाख ८६ हजार २१७ मतदातामध्ये २० लाख ४४ हजार ३८ जना अर्थात् ९० प्रतिशतभन्दा बढी मतदाताले स्वतन्त्रताको पक्षमा मतदान गरे । यो कदमलाई केन्द्र सरकारले बेवास्ता ग¥यो । सोही महिनाको २७ तारिखमा क्याटलोनियाको संसद्मा मतदान भयो । १३५ सदस्यीय संसद्मा उपस्थित ८२ जना सांसदमध्ये ७० जनाले स्वतन्त्रताको पक्षमा मतदान गरे, १० जनाले विपक्षमा र दुई जनाले खाली मत खसाले भने ५० जनाले बहिष्कार गरे । 

संसद्ले यो मतदानलाई वैधता दिँदै क्याटलोनिया स्वतन्त्र भएको घोषणा गरियो । लगत्तै बसेको केन्द्रीय संसद्ले भने यो कुरा अस्वीकार गर्दै क्याटलोनियाको स्वायत्ततासहितको प्रशासन भङ्ग गरी प्रत्यक्ष शासन लागु गर्न केन्द्र सरकारलाई अनुमति दियो । अनि अक्टोबर २८ देखि क्याटलोनियाको प्रशासन भङ्ग गरी प्रत्यक्ष शासन लागु गरिएको छ । यो कदमसँगै क्याटलोनियाको विवाद झन् जटिल र कठिन मोडमा पुगेको छ । 

स्पेनका तत्कालीन प्रधानमन्त्री मारिआनो राखोइनले संसद्को अनुमति लिएर क्याटलोनियामा प्रत्यक्ष शासन लागु गरेपछि स्वतन्त्रता पक्षधर थप आक्रोशित बनेका छन् । 

क्याटलोनियाको विवाद दुई सय वर्षभन्दा अघिदेखि चलिरहेको छ । यही विवादले त्यहाँ हजारौँ मानिसको ज्यान गएको छ तर विवादको समाधान अहिलेसम्म निस्केको छैन । स्पेनको उत्तरपूर्वी भागमा रहेको क्याटलोनियाको इतिहासमा छुट्टै राज्य थियो । आधुनिक स्पेन र पोर्चुगलसमेत रहेको आइबेरियाली प्रायद्वीप क्षेत्रमा रहेका आरागनकी रानी पेट्रोनिलिया र बार्सिलोनाका धनाढ्य राजा रामोन बेरेन्गुयर चौथोबिच विवाह भएपछि आरागन र क्याटलोनिया आफ्ना सन्ततिका लागि सन् ११५० मा स्थापना गरिदिएको अलग राज्य थियो । यसको आफ्नै भाषा, कानुन र रीतिरिवाज थियो । राजा फिलिप पाँचौँले शासन सम्हाल्नुअघिसम्म यो राज्यमा विवाद थिएन । 

सन् १७०७ मा भेलेन्सिया, सन् १७१४ मा क्याटलोनियासहित सबै प्रायद्वीप राजा फिलिपले कब्जा गरेसँगै विवाद सुरु भयो । त्यही बेलादेखि नै असन्तुष्ट पक्षले भाषा, भूमि, संस्कृति र स्वतन्त्रताका लागि सङ्घर्ष गर्दै आएको छ । क्याटलोनियाली राष्ट्रवादीहरूले स्पेनबाट विभिन्न अधिकार माग गर्दै दुई सय वर्षदेखि निरन्तर दबाब दिएका छन् । सन् १९३२ मा स्पेन सरकारले क्याटलोनियालाई स्वायत्तताको अधिकार दियो तर लगत्तै स्पेनमा गृहयुद्ध सुरु भयो । यो युद्धले सन् १९३९ मा सैनिक ‘कु’ भयो । 

जनरल फ्रान्सिस्को फ्रान्को सत्तामा आएसँगै क्याटलोनियाको अधिकार खोसियो । उनको ३६ वर्षे शासनकालमा शुद्धीकरणको नाममा हजारौँ क्याटलोनियावासीलाई मृत्युदण्ड दिइयो । सन् १९७५ मा फ्रान्कोको मृत्यु भएपछि सन् १९७६ मा स्पेनमा संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक संविधान लागु भयो । यो संविधानको धारा १५५ ले कुनै पनि राज्यलाई आत्मनिर्णयको अधिकारसहित अलग हुने अधिकार दिएको छैन । संविधानले आत्मनिर्णयको अधिकार नदिए पनि क्याटलोनियावासीले भने आन्दोलन गरिरहे । उनीहरूको माग अनुसार सन् २००६ मा स्पेनले क्याटलोनियालाई पुनः स्वायत्ततासहित कर सङ्कलनको अधिकार दियो तर सन् २०१० मा स्पेनको संवैधानिक अदालतले सरकारको निर्णय अवैध घोषणा ग¥यो । त्यसपछि विवादले नयाँ रूप लियो । 

क्याटलोनियाका नेता कार्लस पुज्डमोनले पछिल्लो स्पेनबाट क्याटलोनिलयालाई अलग राष्ट्र बनाउने भन्दै विवादास्पद जनमत सङ्ग्रह र संसद्मा मतदान गराउनुभयो । उहाँले क्याटलोनिया स्वतन्त्र भएको घोषणा गर्नुभयो । सो घोषणालाई स्पेन सरकारले भने मान्यता दिएन । सरकारले केन्द्रीय संसद्मार्फत संविधानको धारा १५५ प्रयोग गरी क्याटलोनियाको स्वायत्तता निलम्बन ग¥यो । त्यहाँको प्रशासन भङ्ग गरी प्रत्यक्ष शासन लागु गरिएको छ । तत्कालीन प्रधानमन्त्री राखोइनले कुनै हालतमा पनि स्पेन टुक्रिन नदिने दृढता व्यक्त गर्नुभयो । राजा फिलिप छैटौँले पनि क्याटलोनिया स्पेनको महत्वपूर्ण अङ्ग रहेको र रहिरहने बताउनुभयो । 

क्याटलोनिया स्पेनकै सबभन्दा धनी र विकसित क्षेत्र हो । त्यहाँ ठुला ठुला उद्योगधन्दा र कलकारखाना छन् । स्पेनको कुल जनसङ्ख्याको १६ प्रतिशत र अर्थतन्त्रमा २० प्रतिशत योगदान क्याटलोनियाको छ । १६ औँ शताब्दीदेखि नै शक्ति राष्ट्रका रूपमा उदय भएको स्पेनको मुटु मानिएको क्याटलोनिया अलग हुन चाहेको विवादले मुलुक नै अप्ठेरोमा परेको छ ।

धेरै स्पेनी जनताले क्याटलोनियालाई अलग हुन दिन नहुनेमा जोड दिएका छन् तर क्याटलोनियावासीले भने स्पेनबाट अलग हुन चाहेका छन् । यस्तो अवस्थामा यो समस्यालाई कसरी समाधान गर्ने भन्ने साझा धारणा बन्न सकेको छैन । यही अन्योलबिच वर्तमान प्रधानमन्त्री सान्चेजले सत्ता स्वार्थका लागि क्याटलोनियाप्रति उदार भइदिँदा मुलुक टुक्रिने हो कि भन्ने आशङ्का बढेको छ । त्यही भएर अहिले स्पेनमा भइरहेको विरोध प्रदर्शनले उग्र रूप लिएमा मुलुक हिंसातर्फ जाने खतरा देखिएको छ । 

मूल कुरा के हो भने केन्द्र सरकारले क्याटलोनियावासीलाई अधिकारविहीन बनाएर, लामो समय प्रत्यक्ष शासन लादेर त्यहाँको समस्या समाधान हुन सक्दैन । क्याटलोनिया अलग नहुने सर्तमा केन्द्र सरकारले त्यहाँका बासिन्दालाई पूर्ण स्वायत्ततासहितका सुविधा दिएर समस्याको समाधान गर्नु बुद्धिमानी हुने छ । प्रधानमन्त्री सान्चेजले सत्ता टिकाउनेभन्दा पनि देशको हित हुने काम गर्नु पर्छ । उहाँका कारण मुलुक टुक्रिने अवस्थामा पुग्यो र हिंसा भड्कियो भने परिस्थितिले नयाँ मोड लिन सक्छ । 

  

Author

रामप्रसाद आचार्य