• १२ साउन २०८१, शनिबार

पत्रकार कुमाल प्रहरी नियन्त्रणमा

blog

प्रहरी नियन्त्रणमा रहेका पत्रकार कर्ण कुमाल । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङ्सिर १३ गते । नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाका सहसचिव कर्ण कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । 

कालीकोट प्रहरीले माथिको आदेश भन्दै पत्रकार कुमाललाई आइतबार बिहान उहाँको घरबाटै नियन्त्रणमा लिएर मंगलबार राति जिल्ला प्रहरी कार्यालय कालीकोट पुगाएको छ । 

बहिनीज्वाइँको सामान्य विवाद भएको विषयलाई लिएर उहाँलाई नियन्त्रणमा लिएको बताइएको छ । कालीकोट प्रहरीले पत्रकार कुमाललाई नियन्त्रणमा लिएको जनाएको छ । 

पत्रकार कुमालको बहिनीलाई रास्कोट–२ का खेमराज कुमालको छोराले भगाएर विवाह गरेका थिए । त्यसयता अलपत्र छाडेकाले के कारण हो भनेर छलफल गर्ने क्रममा विवाद भएको र विवादमा दुवै पक्षबिच हात हालाहाल भएको प्रहरीको भनाइ छ । 

सोही विषयमा खेमराज कुमालले प्रहरीमा उजुरी दिएको आधारमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको पत्रकार कुमालले बताउनुभयो । खेमराज कुमालका भाइ विप्लव नेतृत्वको नेकपाको माथिल्लो कर्णाली ब्युरो इन्चार्ज हुनुहुन्छ । 

नेकपाका प्रवक्ता खड्क विश्वकर्मा समेत कालीकोट आएका बेला नेताहरूको आदेशमा कुमाललाई पक्राउ गरिएको पत्रकार महासङ्घको आशङ्का छ । उजुरी दिने खेमराज कुमालले आफूलाई ज्यान मार्ने मनसायका साथ कुटपिट भएकाले ज्यान जोगाउन कानुनी उपचार खोजेको बताउनुभयो ।