• १२ असार २०८१, बुधबार

विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख

blog

सिन्धुली जिल्लाको मरिण गाउँपालिका

सिन्धुलीमाढी, मङ्सिर १३ गते । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले यो वर्ष विवाह अघि स्नातक तहको पढाई पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता दिने भएको छ ।

पालिकाले २० वर्ष उमेर पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने तथा विवाह नगरी बसेका  किशोरीलाई प्रोत्साहन स्वरूप जनही एक लाख रुपियाँ सहयोग गर्न लागेको जनाएको छ ।

पालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालका अनुसार बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्‍याउन यो कार्यक्रम ल्याइएको हो । गत वर्ष २० वर्ष उमेर पुगेर स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने पाँच जना किशोरीले जनही एक लाख रुपियाँ प्रोत्साहन भत्ता पाएका थिए ।

पालिकाले गत वर्षदेखि उक्त कार्यक्रम सुरु गरेको जानकारी दिँदै उहाँले यो वर्ष पनि उक्त कार्यक्रमका लागि पाँच लाख बजेट छुट्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘उक्त भत्ता वितरण गर्नका लागि भर्खर १५ दिने सूचना प्रकाशित गरेका छौँ । उक्त अवधिभित्र मापदण्ड पूरा गरी जति जनाले निवेदन हाल्छन् । सबैलाई उक्त भत्ता वितरण गरिने छ ।’’

उक्त भत्ता प्राप्त गर्नका लागि अविवाहित रही गाउँपालिका भित्र स्थायी बसोबास भएको र मरिण गाउँपालिकाभित्र सञ्चालन भएको क्याम्पसमा अध्ययन गरेको हुनु पर्ने उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानका अनुसार तल्लो कक्षाको पढाई पूरा नहुँदै छात्राहरूको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुग्ने उहाँले सुनाउनुभयो ।

‘‘हाम्रो पालिकामा तल्लो कक्षाहरूमा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले विवाह गर्नु अगावै स्नातक तह उत्तीर्ण गर्ने छात्राहरूलाई हामीले नगद एक लाख दिने कार्यक्रम राखेका हौँ ।’’

गाउँपालिकामा उच्च शिक्षा हासिल गर्ने छात्राहरूको सङ्ख्या न्यून रहेको र बाल अवस्थामै विवाह गर्ने दर बढेपछि विवाह पूर्व नै स्नातक तह उत्तीर्ण गर्ने प्रत्येक छात्राहरूलाई नगद एकलाख दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।