• २६ वैशाख २०८२, शुक्रबार

गोसाईंकुण्डमा म्याद गुज्रेका खाद्य सामग्री बिक्रीवितरण

blog

रसुवा, मङ्सिर १३  गते । पवित्र तीर्थस्थल गोसाईंकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले  रु २० हजारका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधीनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाईंकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका होटलले म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गरेको र  बीलविजक समेत जारी नगरेको अनुगमनका क्रममा फेला पारेको थियो । 

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाईंकुण्ड जाने भक्तजनलाई खान बस्न बढी मूल्य लिएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै पहिलोपटक ती क्षेत्रका होटलको अनुगमन गरिएको जनाइएको छ  ।                

अनुगमनका क्रममा ती होटलबाट बिक्री गरिरहेका पेयपदार्थलगायत विविध खाद्य सामग्री म्याद गुज्रिएको भेटिएको जनाइएको छ ।  पेय पदार्थलगायतका चीज स्थानीयस्तरमै नष्ट गर्दै अब गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गराई छोडिएको अनुगमन समितिका सदस्य  बृहस्पति तामाङले जानकारी दिनुभयो । 

चन्दनवारीदेखी गोसाईंकुण्डसम्मको ११ होटल अनुगमन गरिएको उहाँले बताउनुभयो ।  बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञवालीले बताउनुभयो ।   यस्तै दुग्ध विकास संस्थानअन्तर्गत चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रको पनि सो अनुगमन समितिले स्थलगत निरीक्षण गरेको जनाइएको छ । रासस