रजनी योगी
सुर्खेत, मङ्सिर १२ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूकम्प प्रभावित नागरिकको अवस्था दयनीय रहेको बताउनुभएको छ । सोमबार प्रभावित क्षेत्रमा अवलोकन गरेर फर्किनुभएका नेपालले सबैले सकेको सहयोग गर्न आवश्यक देखिएको बताउनुभएको हो ।
टहरा निर्माणलाई प्राथमिकता दिनुनै अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ । मङ्गलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले चिसोले प्रभावित क्षेत्रका नागरिकलाई थप समस्या पारेको बताउनुभयो । "पार्टी, पङ्क्ति दलभन्दा माथि उठेर पुनः निर्माणमा सहयोग गर्नुपर्ने अवस्था आएको छ," उहाँले भन्नुभयो, "यो अवस्थामा सबै क्षेत्रको उपस्थिति देखिनुपर्छ ।" अस्थायी टहरा निर्माण कार्य सँगसँगै पुनः निर्माणको कामलाई तीव्रता दिनुपर्ने उहाँको सुझाव छ । सरकार भएको अनुभूति हुनेगरी काम गर्नुपर्ने, तत्काल टहरा निर्माणलाई जोड दिनुपर्ने र पुन " निर्माणको काम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै, नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिनुभएको छ । सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको समेत उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, "सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपर्यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो ।"
देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै नेता नेपालले अर्थतन्त्र जुन गतिको साथ अगाडि बढ्नुपर्ने हो त्यो अनुसार बढ्न नसकेको जिकिर गर्नुभयो । अर्थतन्त्र ठिकठाक छ भन्ने र श्रीलङ्का नै बन्न लाग्यो भन्ने दुवै कुराहरू गलत भएको नेपालको भनाइ थियो । राजावादीहरूले ठुलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको नेपालले बताउनुभयो ।