• २ पुस २०८१, मङ्गलबार

महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर १२ गते । सामाजिक विकास कार्यालय तनहुँले निजामती सेवामा महिलाको पहुँच पुर्‍याउन निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने महिला, बालबालिका तथा समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड २०८० अनुसार तालिम सञ्चालन गर्ने निर्णय भएको कार्यालयले जनाएको हो ।

महिलालाई निजामती सेवामा समान रूपमा पुर्‍याउने लक्ष्यका साथ जिल्लाका दश वटै पालिकाबाट ४० महिलालाई तालिम दिने निर्णय भएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले बताउनुभयो । तालिमको लागि पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । 

गत वर्ष पनि कार्यालयले महिलालाई तालिम प्रदान गरेको सुवेदीले जानकारी दिनुभयो । ‘निजामतीमा महिलाको आकर्षण बढाउनका लागि तालिमको गरेका छौँ ।’ अप्राविधिक तर्फको (प्रशासन) सहायकस्तर चौथो तह (खरिदार सरह) कक्षा सञ्चालन गर्न २० दिने सूचना मङ्गलबार जारी गरिएको कार्यालयले जनाएको छ । त्यसका लागि मङ्सिर २६ गते भित्र दरखास्त दिन सक्नेछन् । कार्यालयका अनुसार तालिममा सहभागी हुनका लागि एसएलसी–एसइई उत्तीर्ण गरेको हुनुपर्छ । 

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकालाई तालिम दिइनेछ । प्रशिक्षार्थीहरूको योग्यता र उमेरको हद लोक सेवा आयोगले निर्धारण गरे बमोजिम हुने र तालिम २० दिन सञ्चालन गरिने कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो । आर्थिक रूपमा विपन्न, सामाजिक रूपमा पछि परेका, दलित र आदिवासी, जनजाति महिलालाई विशेष प्राथमिकता दिइने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तालिम २० दिन प्रदान गरिने छ ।