• १४ मंसिर २०८१, शुक्रबार

बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालनमा समस्या

blog

मेची राजमार्गमा बन्दका कारण यातायात सञ्चालनमा समस्या । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), मङ्सिर १२ गते । 
ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधरसमूहले गरेको बन्दका कारण मेची राजमार्ग आज बिहानैबाट ठप्प भएको छ ।

‘कोशी’ नामविरुद्ध आन्दोलन गरिरहेको ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मङ्गलबार बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको हो ।

दुई दिनअघि ताप्लेजुङमा नेकपा (एमाले) सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई सवार सवारी साधनमा तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जना पहिचानवादी कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्ता बिना सर्त  रिहाइको माग गर्दै राजमार्ग बन्दको घोषणा गरिएको छ ।


बन्दका कारण मेची राजमार्गको झापा–इलाम, इलाम– फिदिम र  फिदिम –ताप्लेजुङ सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । बन्द कर्ताको अवरोधका कारण इलामको जिरो किलोमिटर लगायतका क्षेत्रमा यातायातका साधन रोकिएका छन् । 

प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई यही मङ्सिर ११ गते पक्राउ गरेको थियो । आन्दोलन समूहका नेता राम लिङद्मले पक्राउ गरिएका कार्यकर्ता रिहाइ नभएसम्म सडक खुल्न नदिइने बताउनु भयो । यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी बासदेव खतिवडाले बन्दको खासै प्रभाव नरहेको जानकारी दिनु भयो । उहाँले यात्रुको सुरक्षाका लागि स्कटिङको व्यवस्था गरिएको पनि बताउनुभयो ।