अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १२ गते । स्याङ्जामा उत्पादन हुने आलु अब औद्योगिक प्रयोजनका लागि प्रयोग हुने भएको छ । सात स्थानीय तहका २६ समूहका कृषकले कम्पनीसँग किन्ने ग्यारेन्टी गरेर लगाउने प्रक्रिया अगाडि बढाएसँगै यहाँको आलु औद्योगिक प्रयोजनमा प्रयोग हुने पक्का भएको हो । यहाँ कृषि ज्ञान केन्द्रको ‘समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम’ अन्तर्गत आलु रोप्ने काम थालिएको हो । यहाँ उत्पादन हुने आलुबाट फस्र्ट च्वाइस फुड्स प्रालि भैरहवाले चिप्स, फ्रेन्च फ्राई र टिकिया बनाउने छ ।
यहाँका ११ पालिकामध्ये पाँच नगरपालिका र दुई गाउँपालिकाले कृषि ज्ञान केन्द्रको अनुदान सहयोगमा आलु लगाएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि जिकास अधिकृत विनोद हमालले बताउनुभयो ।
यहाँका नगरपालिकामध्ये चापाकोटमा ५५ हजार आठ सय, गल्याङमा ४५ हजार आठ सय, वालिङमा १६ हजार, भिरकोटमा १३ हजार, पुतलीबजारमा नौ हजार किलो आलु लगाउने सम्झौता गरिएको हो । यस्तै गाउँपालिकामध्ये बिरुवामा छ हजार र फेदीखोलामा तीन हजार केजी आलु लगाउने समूहले सम्झौता गरेको हमालले बताउनुभयो ।
यहाँका अर्जुनचौपारी, आँधीखोला, हरिनास र कालीगण्डकी गाउँपालिकाले ज्ञान केन्द्रले निर्धारित समयमा माग नगरेका बताउँदै बर्खे आलु लगाउने माग भएमा अनुदान दिने हमालले बताउनुभयो ।
कम्तीमा ३० रोपनी प्लट जग्गा भएको समूहलाई ज्ञान केन्द्रले अनुदानमा उपलब्ध गराएको हो । एक रोपनी बराबर एक सय केजी बिउ लगाउन मिल्ने बताउँदै हमालले त्यसैका आधारमा माग अनुसार सम्झौता भएको बताउनुभयो ।
यहाँ फेदीखोलाले ३० रोपनीमा आलु लगाउँदा चापाकोटले ५५४ रोपनीमा आलु लगाउने सम्झौता गरेको हो । बिउमा ७५ प्रतिशत अनुदान दिए पनि सिँचाइ र सङ्कलन केन्द्रको ८५, तालिम र विषादीमा शतप्रतिशत अनुदान दिइने केन्द्रले जनाएको छ ।
यहाँ गल्याङ नगरपालिका–११, जिमुवाको ७० प्रतिशत जनकदेव र ३० प्रतिशत भैरहवाको खुमल जातको आलु लगाइने छ । समूहले लगाएको आलु उत्पादनपश्चात् त्यो बेलाको अवस्था हेरेर मूल्य निर्धारण हुने र नबिके कम्पनीले आखाँले देख्नेसम्मको दाना किन्ने गरी सहमति गरिएको हो ।
अहिलेसम्म कृषकले ६० प्रतिशत लगाएको र माग भए सम्झौताभन्दा बढीसमेत बिउ उत्पादन गर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको बिउ कृषक आफैँ व्यवस्था गर्ने र लगाएर सकेपछि ज्ञान केन्द्रबाट रकम भुक्तानी समूहले पाउने छ ।