• २७ वैशाख २०८२, शनिबार

हेभी ईक्युपमेन्टको क्षेत्रमा मन्दी

blog

काठमाडौं, मङ्सिर ११ गते । आर्थिक मन्दीले निर्माण कार्य ठप्प भएपछि सबैभन्दा धेरै मारमा परेको क्षेत्र हो हेभी ईक्युपमेन्ट अर्थात् ठुला आकारमा काम गर्ने उपकरण । त्यस्ता हेभी ईक्युपमेन्ट सञ्चालन गर्ने व्यवसायीको साझा संस्था काभ्रे हेभी इकयुपमेन्ट व्यवसायी सङ्घको चौथो साधारण सभामा व्यवसायीले आफ्नो क्षेत्रमा परेको समस्या र त्यसलाई समाधान कसरी गर्न सकिन्छ भनेर खुलेर छलफल गरेका छन् । 

सोमबार धुलिखेलमा आयोजित विशेष सभामा बोल्ने अधिकांश वक्ताले अहिलेको अवस्थामा हेभी ईक्युपमेन्ट सञ्चालनमा समस्या भएको बताउनुभयो । 

हेभी ईक्युपमेन्ट महासङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले काभ्रेले सदैव हेभी ईक्युपमेन्टको विकासमा भूमिका खेलेको बताउनुभयो । विशेष अतिथि ताराबहादुर कुँवरले हेभी ईक्युपमेन्टको क्षेत्रमा मन्दी आएको समयमा पनि काभ्रेले अधिवेशन गर्ने हिम्मत राखेर उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले आफूसँग भएका दर्जन हेभी ईक्युपमेन्टमध्ये सबैले अपरेटरलाई तलब दिने पैसा समेत कमाउन नसकेको बताउनुभयो । 

पूर्व मन्त्री चन्द्र लामाले हेभी ईक्युपमेन्टको सहयोगबाट मात्रै समृद्धिको सपना पूरा हुने उल्लेख गर्नुभयो ।

हेभी ईक्युपमेन्ट महासङ्घका महासचिव सुरेश खत्री, उद्योग वाणिज्य महासङ्घ काभ्रेका उपाध्यक्ष कैलाश पलाञ्चोके, निर्माण व्यवसायी सङ्घ काभ्रेका अध्यक्ष विजय लामा, हेभी ईक्युपमेन्ट काभ्रेका उपाध्यक्ष प्रभुराम श्रेष्ठ लगायतकाले धारणा राख्नु भयो । 

नयाँ समिति चयन 

प्रभुराम श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामशंकर कर्माचार्य, सचिव गोकुलप्रसाद भुर्तेल, सहसचिव रामहरि भण्डारी, कोषाध्यक्ष धरसमान तामाङ चयन भएका छन् । समितिको कार्यसमितिमा मदन नेपाल, अरुण उलक, दिलदोर्जे लामा, माधवप्रसाद कँडेल, दिनेश सापकोटा, सुधीर श्रेष्ठ चयन हुनु भएको छ ।