• ६ माघ २०८१, आइतबार

प्रदेश सभा बैठक

जनअपेक्षा अनुरूप काम नहुँदा जनतामा निराशा

blog

प्रदेश सभाको बैठक । तस्बिर : गोरखापत्र

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, मङ्सिर ११ गते । सङ्घीय व्यवस्थामाथि हाम्रै सांसद कारण खतरा देखा परेको सभा सदस्यहरूले बताउनुभएको छ । ‘‘हामी प्रदेश सांसदहरूले बितेको एक वर्ष कार्यकालमा जनअपेक्षा अनुरूप कुन कुन कार्य गर्‍यो, त्यसको आफै मूल्याङ्कन गर्नुस् सभासदस्यहरुले भन्नुभयो, जनताको इच्छाअनुसार काम भएको छैन । व्याप्त निराश छ ।’’

मधेश प्रदेश सभाको सोमबार दोस्रो अधिवेशनको तेस्रो बैठकमा बोल्नु हुने अधिकांश सभा सदस्यहरूको विचार यस्तै थियो । आफ्नो कमीकमजोरी सच्याइ आत्ममूल्याङ्कन गरेर अघि बढ्नु पर्ने सुझाएका छन् ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले बुलेट ट्रेनको गति जस्तै कार्य गर्ने भन्नु भएको प्रसङ्ग उल्लेख गर्दै सभा सदस्यहरूले भन्नुभयो, नेपाली ट्रेनको गतिमा पनि कुदन सकेको छैन । बैठकमा प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका नेता सरोजकुमार यादवले अहिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाप्रति जुन प्रकारको आक्रमण भइरहेको त्यसप्रति सरकारको ध्यानआकषर्ण हुनु आवश्यक रहेको बताउनुभयो ।  

बैठकमा प्रदेश सभा सदस्य जिवछी यादवले गणतन्त्र सङ्घीयता गरिब धनी, विपन्न सम्पन्न, पिछडिएका वर्गको लागि वरदान साबित भएको बताउनुभयो । मधेशी, मुस्लिम, महिला, पिछडिएका वर्गको लागि लोकतन्त्र, सङ्घीयताबाट लाभान्वित भएको उहाँले दाबी गर्नुभयो । धेरैको बलिदानबाट सङ्घीयता आएको भन्दै उहाँले केही तत्त्वहरू राजतन्त्रको पुच्छर समाएर लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको बताउनुभयो ।

बैठकमा प्रदेश सांसद सतिशकुमार सिंहले अहिलेको सभाको एक वर्ष सात दिन बितेको तर, प्रगति खासै नरहेको बताउनुभयो । विगतमा धेरै छानबिन समितिहरू गठन भयो तर कुनैपनि समितिले सदनमा प्रतिवेदन पेस नगरेको उहाँले दाबी गर्नुभयो । 

सांसद सिंहको निलम्बन फुकुवा

प्रदेश सभाको बैठकले प्रदेश सांसद अनिरुद्धप्रसाद सिंहको निलम्बन फुकुवा गरेको छ । गत भदौ १८ गते पक्राउ गरी पुर्पक्षको लागि थुनामा रहेको बेला उहाँलाई निलम्बन गरिएको थियो ।

गत कात्तिक २३ गते तारिकमा थुनाबाट छुटेको भन्दै सांसद सिंहले निलम्बन फुकुवाको लागि सभाको सचिवालयमा सोमबार निवेदन दिनु भएको थियो । तारिखमा छुटेको मितिदेखि नै निलम्बन फुकुवा गरिएको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो । 

विषयगत समितिमा हेरफेर 

प्रदेश सभाको बैठकले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरूमा रहनु भएका सदस्यहरूको समिति हेरफेर गरिएको छ । 

योजना तथा अर्थ समितिका सदस्य सञ्जयकुमार महतोलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, विकास समितिबाट सरोजकुमार यादवलाई प्रदेश मामिला समितिमा, सांसद सञ्जयकुमार यादवलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, सांसद वसन्तकुमार कुशवाहकलाई सार्वजनिक लेखा समितिमा, बेची लुङ्गेलीलाई प्रदेश मामिला समितिबाट विकास समितिमा र सांसद रत्नेश्वर गोइत यादवलाई विकास समितिबाट प्रदेश मामिला समितिमा जिम्मेवारी हेरफेर गरिएको बैठकले सर्वसम्मत निर्णय भएको सभामुख मण्डलले जानकारी दिनुभयो ।  

छानबिन समितिको म्याद थप

गत असारमा २६ गते गठन गरेको विशेष संसदीय छानबिन समितिको म्याद थप गरिएको छ । सभाको बैठकले यही मङ्सिर महिनाको मसान्तसम्म म्याद थपको प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभामा समितिका सभापति उपेन्द्र महतोले म्याद थपसम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।

प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को कार्यक्रमको छानबिन गरी प्रतिवेदन पेस गर्न १० सदस्यीय सो समिति गठन गरिएको थियो । त्यसबेला समितिको साउन १ गतेदेखि भदौ मसान्तसम्म सयम सीमा तोकिएको थियो । यस अवधिमा समितिले समितिको सभापति चयन र कार्यविधि पारित गरेको सभापति महतोले सभामा जानकारी गराउनुभयो । 

समिति सभापति निर्वाचन

प्रदेश मामिला समिति र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापति पदको निर्वाचन २०८० मङ्सिर १४ गते दिनको ११ बजे गर्ने मिति तोकेको छ । सोको कार्यतालिका मिलाई सोमबारै सूची प्रकाशन गर्न सचिवालयलाई सभामुखले निर्देशन समेत दिनु भएको छ । सभाको अर्को बैठक मङ्गलबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।