दिपकप्रसाद गौतम
वीरगञ्ज, मङ्सिर ११ गते । पर्साको ठोरी गाउँपालिकामा नातिको कुटाइबाट ८२ वर्षीय वृद्ध हजुरबुबाको मृत्यु भएको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ गौतम नगरका ३६ वर्षीय कृष्णबहादुर खड्काले आफ्नै ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार आफ्नै छोरीका छोरा (नाति) खड्काले लाठी प्रहार गरी ८२ वर्षीय हजुरबुबाको हत्या गरेका हुन् । स्थानीयवासीका अनुसार घरनजिकै छिमेकीको घरमा छोरीका छोरा (नाति) खड्काले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण त्यहाँ पुगी छाडिदेऊ म कोदो चुट्छु भन्दा आवेशमा आएर खड्काले हजुरबुबा लक्ष्मणमाथि कोदो चुटिरहेको लाठी प्रहार गरेका थिए ।
लाठी प्रहारबाट बेहोस भएका लक्ष्मणलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापश्चात् लुकेका खड्कालाई गाउँलेहरूले समातेर प्रहरीलाई बुझाएका थिए । वृद्धको शव परीक्षणको लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ बरवा छोटैलीमा आइतबार राती पल्टिएको ट्याक्टरले चेपिएर ७० वर्षीय वृद्ध महिलाको मृत्यु भएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ मा रहेको आमोदेबी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा गएराति ११ बजे पर्सागढी नगरपालिका वडा नम्बर २ बरवाछोटैली गाउँ नजिकै प्रदेश २–०३–००१ त ५५५४ नम्बरको ट्याक्टर दुर्घटना भई पल्टिदा जीराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ७० वर्षीया केशरजिया देवी थरुनीको मृत्यु भएको हो ।
दुर्घटनामा परेको ट्याक्टरलाई प्रहरी चौकी बढनियारले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।