राममणि दाहाल
हेटौँडा, मङ्सिर ११ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १६ स्थित चिसापानीमा खाग (जङ्गली माहुरी) ले चिलेर दुई जना महिला गम्भीर बिरामी हुनुभएको छ ।
स्थानीय सरूँ दङ्गालको घरमा आएर बसेको खागले सोमबार दिउँसो दङ्गालको शरीरको विभिन्न भागसँगै छिमेकी मन्दिरा घिमिरेलाई अनुहार र टाउकोमा चिल्दा (टोक्दा) दुवै जना गम्भीर हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३२ वर्षीया दङ्गाल र ४५ वर्षीया घिमिरेलाई खागले टोकेर गम्भीर बनाएपछि दुई जनालाई हेटौँडा अस्पतालमा ल्याइएकोमा दङ्गालको अवस्था जटिल भएपछि थप उपचारका लागि भरतपुर पठाइएको छ ।