लेखनाथ समाचारदाता
लेखनाथ, मङ्सिर ११ गते । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सोमबारदेखि पोखरामा आइटिएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुशीला सिम्खडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रवीण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गर्नुभयो ।
मन्त्री सिम्खडाले टेनिस सङ्घले आयोजना गर्दै आएका अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । उहाँले खेलकुदको विकासका लागि मन्त्रालयले अभिभावकको भूंमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन पोखरेलले विदेशबाट आएका खेलाडीलाई हिमालमुनिको टेनिस कोर्टमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । आयोजक सङ्घ अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नवीन चालिसे र सचिव नवीन श्रेष्ठले पनि बोल्नुभएको थियो ।
सोमबार भएको ब्वाइज सिङ्गलतर्फ भएको खेलमा एलेक्जे सिभइवले भारतका एस पन्चाछरीलाई ६–०, ५–० (रिटायर्ट हर्ट)मा, भारतका प्रनिल शर्माले नेपालका निहाल जङ्गबहादुर थापालाई ६–४,६–१ ले पराजित गर्नुभयो । अमेरिकाका आरब सम्राट हाडाले भारतका सौर्य भारद्वाजलाई ६–२, ६–१ ले, भारतका अनिकेत बेन्करटामनले जापानका इपे माट्सुसिमालाई ६–३,६–१ ले, नेपालका प्रणव मानन्धरले भारतका आहन सेट्टीलाई ६–४,६–२ ले, नेपालकै आर्यन गिरीले भारतका आयन सेट्टीलाई ७–५,६–२ ले पराजित गर्नुभयो ।
उहाँहरु दोसो चरणमा प्रवेश गर्नुभएको छ । भारतका आरब बर्माले क्वानडाका जसराज सिंह जगदेवलाई ६–७, ६–१ र ६–२ ले, जापानका रिकु हिगासीले भारतका डिगान्त एमलाई ६–४,२–६ र ६–० ले तथा नेपालका आयुष्मान हजुर घलेले भारतका दक्ष कुक्रेटीलाई ६–३, ६–४ ले पराजित गर्नुभयो । गर्ल्स सिङ्गलतर्फ भारतका यासिका सोकिनले नेपालका सुनिरा थापालाई ६–१, ६–१ ले हराउनुभयो ।