• १२ साउन २०८१, शनिबार

नरभक्षी बाघ नियन्त्रणमा

blog

फाइल तस्विर

राममणि दाहाल

हेटौँडा, मङ्सिर ११ गते । मानिसलाई आक्रमण गरी मार्ने बाघलाई मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।

गत शुक्रबार मनहरी गाउँपालिका –६ स्थित मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको राप्ती र लोथर खोलाको दोभानमा चितवन जिल्ला राप्ती नगरपालिका –१ स्थित दुबीचौरका  करिब ४३ वर्षीय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा टोलीले मानिसलाई आक्रमण गरी मार्ने बाघलाई मनहरी गाउँपालिका –६ स्थित मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको सुरक्षा टोलीले मध्यवर्ती क्षेत्रबाट बाघलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । 

उहाँले आइतबार राति ८ः४५ बजेको समयमा नियन्त्रणमा लिएको बाघ कसरामा राखिएको बताउनुभयो । यसैबीच बाघको आक्रमणबाट पौडेलको मृत्यु भएपछि निकुञ्ज सुरक्षापोष्ट सुनाचुरीबाट सेना र सुनाचुरी रेन्ज पोष्टबाट चारवटा हात्ती प्रयोगगरी बाघको खोजतलास गर्ने क्रममा पौडेलको शव फेला परेको घटनास्थलमा थप एउटा शव फेला परेको थियो । 

सो शव  राप्ती नगरपालिका –१ स्थित दुबीचौरका करिब १७ वर्षीय पुष्पराज तामाङको भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । पुष्पराजलाई निजका पिता इन्द्रबहादुर तामाङले पुष्पराजले लगाएको पाइन्ट र चप्पलका आधारमा सोमबार सनाखत भएको उहाँले बताउनुभयो ।