• १३ मंसिर २०८१, बिहिबार

अस्थायी आवास छिटो निर्माण गरौं : अध्यक्ष नेपाल

blog

सरोकारवालासँग भूकम्प प्रभावित क्षेत्रमा भएका कामको जानकारी लिनुहुँदै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्विर : वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, मङ्सिर ११ गते । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अस्थायी आवासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । 

भूकम्प प्रभावित क्षेत्र जाजरकोट आउनुभएका पूर्व प्रधानमन्त्री नेपालले सरोकारवालासँग सो कुरा बताउनुभएको हो । भूकम्प प्रभावित क्षेत्रको भेरी नगरपालिका –३ माथिल्लो थाप्लेमा अस्थायी टहरा निर्माण गर्दै एकीकृत समाजबादीले एकसय अस्थायी टहरा निर्माण गरी पीडितलाई हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । 

बिनाशकारी महाबिपत्तिको बेला राजनीतिक दल, सरोकारवाला निकाय, दातृ निकाय एकजुट भएर विपत्तिको सामना गर्नुपर्ने बताउनुभयो । विपत्तिको समयमा जे सकिन्छ त्यही सहयोग गर्न आग्रह गर्नुभयो ।

भुकम्प प्रभावित क्षेत्रका घर र कोठा भत्किएर शैक्षिक सामग्री गुमाएका पाँचसय विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको काम सुरु गरेको बताउनुभयो । जाजरकोटमा चिसोका कारण भूकम्प प्रभावितको बालबालिका, दीर्घरोगी, सुत्केरीको मृत्यु भएको समाचार आउन थालेकाले प्रक्रियागतको पछि नलागी छिटोछरितो अस्थायी संरचना निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

पार्टीका कार्यकर्ताले जनताको अस्थायी आवास निर्माणमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सांसद अमरबहादुर थापाको उपस्थिति थियो ।